धर्मेन्द्रको मृत्युको खबर 'पूर्ण रूपमा झुटो', छोरी ईशा र हेमा मालिनीद्वारा कडा खण्डन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
994
Shares
काठमाडौँ। दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको भनी मङ्गलबार बिहान मिडियामा फैलिएको खबरलाई उनकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले कडा शब्दमा खण्डन गरेकी छन्।
छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै मिडियाले 'पूर्ण रूपमा झूटा समाचार' फैलाएको बताइन्। उनले बुबाको अवस्था स्थिर रहेको र उनी निको हुँदै गरेको जानकारी दिँदै परिवारको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गरिन्।
यसैगरी, हेमा मालिनीले पनि बिहान ९:४० बजे मृत्युको खबरमा असन्तुष्टि व्यक्त गर्दै भनिन्, "जे भइरहेको छ त्यो अक्षम्य छ। उपचारमा प्रतिक्रिया दिइरहेका व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन सकिन्छ? यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण व्यवहार हो।"
धर्मेन्द्रलाई सोमबार श्वासप्रश्वासमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको र आगामी ७२ घण्टा महत्त्वपूर्ण रहेको बताइएको छ। उनको मृत्युको खबर फैलिएपछि रक्षामन्त्री राजनाथ सिंह र गीतकार जावेद अख्तर लगायतले समवेदना व्यक्त गरे पनि पछि उनीहरूले आफ्नो पोस्ट मेटाएका थिए।
अहिले धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनी अस्पतालमा छन्। अभय देओल धर्मेन्द्रको घर पुगेका छन्। यसअघि सोमबार राति छोराहरू सनी देओल र बबी देओल लगायत शाहरुख खान र सलमान खान जस्ता बलिउडका चर्चित सेलिब्रेटीहरू पनि अस्पताल पुगेका थिए। देओल परिवारको नजिकको स्रोतले धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको जानकारी दिएको छ।