arrow

'ए' डिभिजन लिग विवाद सुल्झाउन मन्त्रालयको पहल: एन्फा, क्लब र खेलाडीबीच मङ्गलबार बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
anfas.jpg

काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग आयोजनाको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच उत्पन्न विवाद सुल्झाउन युवा तथा खेलकुद मन्त्रालयको पहलमा मङ्गलबार त्रिपक्षीय बैठक हुने भएको छ। यो बैठक सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा बस्नेछ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा र नेपाल फुटबल खेलाडी संघबीच तय भएको वार्ता अवरोध भएपछि मन्त्रालयले हस्तक्षेप गरेको हो। वार्ता अवरोध हुनुको कारण थियो– खेलाडी संघले बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग राख्नु।

फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले 'ट्रान्सपरेन्सी' चाहिएको र वास्तविक समस्या के रहेछ भन्ने सरोकारवालाहरूलाई देखाउन आवश्यक रहेकोले लाइभ माग गरिएको उल्लेख गरेका छन्। उनले बन्द कोठामा जे पनि सम्झौता हुनसक्ने भन्दै एन्फाले प्रत्यक्ष रूपमा सार्वजनिक नगरौं भन्ने प्रस्ताव गरेपछि आफूहरूले बैठक बहिस्कार गरेको बताए।

गत सोमवार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यस वर्ष पनि शीर्ष डिभिजन लिग नहुने र यसको साट्टो राष्ट्रिय लिग गर्ने सहमति गरेपछि खेलाडीहरू आक्रोसित बनेका थिए। यो निर्णयको विरोध गर्दै खेलाडीहरू शहीद स्मारक ‘ए’ डिभिजन लिग गराउन माग राख्दै आन्दोलनमा उत्रिएका थिए। एन्फा लिग आयोजनाबाट भाग्न खोजेको खेलाडीहरूको आरोप छ।

सोही घटनापछि एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडीलाई छलफलमा बोलाएको थियो, तर प्रत्यक्ष प्रसारणको माग अस्वीकार भएपछि सोमबारको बैठक हुन सकेन। अब मन्त्रालयको रोहबरमा हुने यस मङ्गलबारको बैठकले लिग विवाद सुल्झाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ