काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) मा सर्वसाधारणबाट ६ गुणाभन्दा बढी आवेदन परेको छ। कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन्। कम्पनीले यस चरणमा सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गरेको थियो। उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन्।
सर्वसाधारणतर्फको आईपीओ खुला गर्नुअघि नै कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज ७ देखि १० गतेसम्म आवेदन लिई असोज २३ गते बाँडफाँट गरिएको थियो भने उद्योग प्रभावित स्थानीयमा असोज ७ देखि २१ गतेसम्म आवेदन लिएर कात्तिक २ गते बाँडफाँट गरिएको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको थियो। त्यसअनुसार पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता उद्योग प्रभावित स्थानीयका लागि तथा ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारीतर्फ निष्कासन गरिएको थियो।