बाँके। नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना अगाडि नै निर्माण सम्पन्न भएको छ। राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाका अनुसार विसं २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकोमा सो समयभन्दा दुई महिना पहिले नै निर्माण कार्य पूरा गरेको हो।
आयोजनाको काम सम्पन्न भएसँगै अबको केही दिनभित्रै निर्माण पक्षबाट भवन हस्तान्तरण हुनेछ र त्यसपछि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिनेछ। आयोजना प्रमुख थापाले विज्ञले अनुगमन गरेपछि पुरानो टर्मिनल भवनमा रहेका एक्सरे मेसिनलगायतका आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँ भवनबाट सेवा सुरु हुने जानकारी दिएका छन्। नेपालगञ्जमा निर्मित यो टर्मिनल भवन अन्तरराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएकोले आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको उनको भनाइ छ।
भ्याट बाहेक कूल रु दुई अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ लागतमा निर्माण कम्पनीले यो टर्मिनल भवन तयार पारेको हो। नवनिर्मित भवन सेमी बेसमेन्टसहित तीन तलाको छ, जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ र त्यहाँ कुल २४ वटा पसल रहनेछन्। पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र १४ वटा यात्रु जाँच कक्ष, तीन भिआइपी रूम, एउटा चिल्ड्रेन प्लेइङ एरिया र भन्सार तथा क्वारेन्टाइन जाँचका लागि अलग-अलग कोठा निर्माण गरिएका छन्।
भविष्यमा अन्तरराष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तरराष्ट्रिय उडानका लागि अलग–अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ। नवनिर्मित टर्मिनल भवनको यात्रु क्षमता प्रति घण्टा ६२८ रहेको छ। नयाँ टर्मिनल भवन क्षेत्रमा बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ भने परिसरमा उचित ढल निकास र नालाको विकास गरिएको छ। आयोजना प्रमुख थापाका अनुसार एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँमा एटीआर–७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा रहेको छ।