बालेन र सुदनलाई भविष्यमा कारबाही गर्ने युवा संघको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
910
Shares
काठमाडौँ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरूले 'देश बचाउने अभियान' सुरु गरेको घोषणा गर्दै देश जलाउने तत्वहरूसँग कुनै सहकार्य नगर्ने चेतावनी दिएका छन्।
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले युवा संघले वर्तमान परिस्थितिको समीक्षा गरी नयाँ ढंगले अगाडि बढ्न योजना बनाइरहेको र पार्टीको महाधिवेशन केन्द्रित अभियानहरूलाई पनि सँगै लिएर हिँडेको बताएका छन्। उनले एमालेका एजेन्डाहरूअनुसार देश बचाउनका लागि आफूहरू केन्द्रित रहेको बताउँदै भने, "एमालेले देश बचाउनेको रक्षा गरेर हिँडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ। देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ। देश बचाउने सम्पूर्ण जेनजीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौँ।"
अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने विसं २०४६ साल पछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे। उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताउँदै भ्रष्टाचार विरुद्धको नारा सबैभन्दा पहिला एमालेले नै उठाएको र जेनजीको माग पनि आफूहरूबाटै उठ्न सुरु गरेको दाबी गरे। उनले 'लुसिफर दलालहरूले' देश खरानी बनाउने प्रयत्न गरेको आरोप लगाए।
नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले एमालेले संसद पुनःस्थापनाको निम्ति आन्दोलन र जनदबाबलाई अगाडि बढाउने तथा पार्टीलाई पुनः व्यवस्थित गर्न महाधिवेशनलाई अगाडि लैजाने सोच र योजनामा रहेको बताए।
राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले 'बालेन शाह र सुदन गुरुङ्गले नै सिंहदरबार, संसद भवन र राष्ट्रपति कार्यालयसहित नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको' भन्दै गम्भीर आरोप लगाए। उनले वर्तमान सरकारले उनीहरूलाई कारबाही नगरे पनि भोलिको दिनमा आउने दलीय सरकारले कानूनी कठघरामा उभ्याएरै छोड्ने चेतावनी दिए।