नेपालमा अधिनायकवाद शुरु भएको पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
965
Shares
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद सुरु भएको भन्दै गम्भीर टिप्पणी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बंगलादेश र म्यानमारजस्ता देशहरूमा अधिनायकवादीहरूले चुनाव गर्ने नाममा मिति सार्दै गएको दृष्टान्त प्रस्तुत गरे। उनले नेपालमा पनि सोही सिलसिला दोहोर्याउन खोजिएको जिकीर गरे।
अध्यक्ष ओलीले अधिनायकवाद सुरु हुनेबित्तिकै चुनावको घोषणा हुने तर मिति सार्दै जाने गरेको अन्तर्राष्ट्रिय अनुभव सुनाउँदै म्यानमारमा ६ वर्षसम्म र बंगलादेशमा डेढ वर्षसम्म चुनावको मिति सरेको उदाहरण दिए। उनले भने, "त्यही अनुभव, त्यही सिलसिला नेपालमा पनि दोहोर्याउन खोजिएको छ।"
उनले मुलुकलाई फेरि पनि द्वन्द्वतर्फ, तनावतर्फ र पारस्पारिक द्वेष तथा घृणातर्फ फर्काउने प्रयास भइरहेको आरोप लगाए। उनले यो राष्ट्रका निम्ति अनिष्टकारी परिस्थिति भएकोले यसलाई निरन्तर रहन दिन नहुने बताए। अध्यक्ष ओलीले जेनजी (Gen Z) पुस्ताको नाममा समेत मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको दोहोर्याएका छन्।