साताको पहिलो दिन नेप्सेमा ३० अंकको पहिरो, कारोबार रकम पनि घट्यो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
893
Shares
काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ। यसअघि बिहीबारको कारोबारमा पनि नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा रोकिएको थियो।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत बिहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख १९ हजार कित्ता शेयर कारोबार भएको छ। यस दिन सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ५.९०, २.४२ र २.२१ अंकले घटेका छन्।
आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
बजारमा गिरावट आए पनि आज तीन स्टकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरी रहेका छन्। दरमखोला हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले बढेर ४८६.६० रुपैयाँमा र माबिलुङ्ग इनर्जीको शेयर मूल्य ४२.२० रुपैयाँले बढेर ४६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसैगरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर कम्पनीको शेयर सर्वाधिक धेरै २७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि सर्वाधिक कारोबार भएको छ।