arrow

चिसो बढेसँगै बाजुराका उच्च भेडीगोठ बेँसी तिर झार्न शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
bhedigoth-.jpg

बाजुरा। बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा अत्याधिक चिसो बढ्न थालेपछि त्यहाँ रहेका भेडीगोठहरू धमाधम बेँसीतिर (औल) झार्न थालिएको छ।

बाजुराका नौवटै स्थानीय तहका उच्च क्षेत्रमा बसोबास गर्ने भेडीगोठहरू हिमपातसँगै चिसो बढेपछि बेँसीतिर सार्न थालिएका हुन्। सामान्यतया गत जेठमा लेक उक्लेका भेडीगोठहरू कात्तिकको पहिलो सातादेखि चिसो बढ्न थालेपछि औल झर्न थालेका हुन्। यसकारण अहिले विभिन्न ठाउँ भेडाबाख्राका बथानले भरिएका छन्।

बुढिनन्दा नगरपालिका–९ अगाउपानीका भेडापालक कृषक शिव थापाले चिसोका कारण भेडाबाख्राको चरनमा कठिनाई हुनुका साथै अत्याधिक जाडो हुने भएकोले भेडीगोठ बेँसीतिर झार्न थालिएको बताए। उनले भने, "चिसोको समयमा भेडीगोठ बेँसीतिर झार्ने र गर्मी महिना शुरु भएपछि पुनः हिमालतिर सार्ने प्रचलन छ।" थापाले आफूले पालेका करिब दुई सय भेडा पनि अहिले बेँसीतिर झारिएको जानकारी दिए।

भेडीगोठालाहरू हप्तौंको यात्रा गरेर बुकी (उच्च लेक) चढ्ने र बेँसी झर्ने गर्छन्। बेँसीको तुलनामा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ। गोठालाहरू यो समयमा भेडाबाख्रा बिक्री गर्नका लागि बेँसी झरेर बजारतिर लाग्ने गर्छन् र गर्मी शुरु भएपछि पुनः हिमालतिर उक्लने गर्छन्।

बाजुरामा हाल ६ सय ७३ भेडीगोठमा लगभग ५० हजारको हाराहारीमा भेडाबाख्रा रहेको अनुमान छ। तर, उचित किसिमको वन व्यवस्थापन नहुँदा भेडाबाख्राको चरिचरनमा समस्या हुँदै आएको र वर्षैनी चरन अभावका कारण भेडापालनमा कमी आउँदै गएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ