भिटामिन ‘ए’ क्याप्सुल अभाव भएपछि बालबालिकाको स्वास्थ्य जोखिममा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
1.2k
Shares
हुम्ला । हुम्लामा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’ क्याप्सुलको अभाव देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, यो अभावको मुख्य कारण राष्ट्रिय लक्ष्य र गाउँपालिकाले निर्धारण गरेको लक्ष्यबीचको फरक हो।
तथ्यांक अनुसार, हुम्लामा भिटामिन ‘ए’ सेवन गर्ने उमेर समूहका बालबालिकाको राष्ट्रिय र स्थानीय लक्ष्यबीच दुई हजार एक सय ३३ जनाको फरक देखिएको छ, जसका कारण पर्याप्त मात्रा क्याप्सुल उपलब्ध हुन नसकेको हो ।
कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले हालसम्म जिल्लाका सातवटै गाउँपालिकामा चार हजार सय सय ३५ डोज भिटामिन ‘ए’ पठाइसकेको छ।
तथापि, जिल्लाको लक्ष्यअनुसार अझै एक हजार दुई सय ८२ डोज अपुग रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका खोप फोकल पर्सन पाल्जोर लामाले जानकारी दिए।
उनका अनुसार, सिमकोट गाउँपालिका बाहेक अन्य छ गाउँपालिकामा भिटामिन ‘ए’ क्याप्सुल प्रयाप्त मात्रा उपलब्ध छैन।
भिटामिन ‘ए’ अभाव बालबालिकाको स्वास्थ्य दृष्टिले अत्यन्त संवेदनशील विषय हो। यसले दृष्टि कमजोर हुने, रोग प्रतिरोधात्मक क्षमता घट्ने र संक्रमणको जोखिम बढाउने सम्भावना हुन्छ। स्वास्थ्य सेवा कार्यालयले कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रसँग समन्वय गरी अभाव टार्ने प्रयास भइरहेको जनाएको छ।
राष्ट्रिय तालिकाअनुसार कार्तिक २० र २१ गते भिटामिन ‘ए’ खुवाउने कार्यक्रम तय भए पनि क्याप्सुल अभावकै कारण प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले तुरुन्तै थप एक हजार क्याप्सुल पठाउने तयारी गरेकाले हुम्लामा कार्तिक २४ गतेसम्म खुवाउने समय तोकिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले बताए ।
यदि यो समस्या समयमै समाधान नभए, जिल्लाका सयौँ बालबालिकाको स्वास्थ्य जोखिममा पर्ने र भिटामिन ‘ए’ वितरण कार्यक्रम प्रभावित हुने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्।