arrow

एमालेभित्र नेतृत्व परिवर्तनको माग

ओलीले सम्मानपूर्वक विश्राम लिनुपर्छ- कर्ण थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
karna-bahadur-thapa-Uml.jpg

काठमाडौँ। नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीमाथि असन्तुष्टि बढेको देखिएको छ। एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा ओलीलाई अब सम्मानपूर्वक विश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।

थापाका अनुसार, ओलीले दुईपटक पार्टी अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् र उनी अहिले ७४ वर्ष पुगिसकेका छन्। थापाले भने, "ओलीजीले अब प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ।" उनले महाधिवेशनमा प्रतिस्पर्धा हुने भए पनि ओलीले अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुने आफ्नो व्यक्तिगत मत रहेको स्पष्ट पारे।

ओलीको राजनीतिक जीवन र उपलब्धिहरूको सम्मान गरे पनि थापाले अहिले ओली पार्टी जीवनको आन्तरिक लोकतान्त्रिक मूल्य र मान्यताबाट विमुख भएकोमा दुख व्यक्त गरे। थापाको आरोप छ, "उहाँले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति देखाउनुभएको छ। उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो। यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ।" उनले लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्यागेकाले ओलीको सान्दर्भिकता सकिएको जोड दिए।

थापाले पार्टीमा ओलीको विकल्प सम्भव भएको दाबी गर्दै भने, "कुनैबेला ओलीजीको अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो तर त्यो सम्भव भयो। अहिले पनि नयाँ नेतृत्व सम्भव छ।" उनले एमालेलाई जनताको बहुदलीय जनवादको मान्यताअनुसार अगाडि बढाउन विकल्प दिने र पार्टीभित्र कार्यकर्ता सार्वभौम हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादबारे टिप्पणी गर्दै थापाले पार्टीको निर्णयलाई 'विधानविपरीत' भनेका छन्। उनले विशेष जिम्मेवारीमा रहेका व्यक्तिको सदस्यता स्थगनको अवस्थामा रहने र फर्किएपछि स्वतः सक्रिय हुने पार्टी विधानको धारा ९ अनुसार भण्डारीको सदस्यता नवीकरण नहुनु गलत भएको र यसले पार्टीमाथि धब्बा लगाएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ