arrow

'शटडाउन'का कारण अमेरिकी हवाई सेवामा सङ्कट: एक हजारभन्दा बढी उडान रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
usa-shutdown.jpg

काठमाडौँ । अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटले देशभरका एयरलाइन्सहरूलाई गम्भीर असर पुर्‍याएको छ । जसका कारण शुक्रबार करिब एक हजार उडान रद्द भएका छन् र यात्रुहरू असहज अवस्थामा परेका छन्।

तलब नपाएका हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तनाव बढेपछि सङ्घीय उड्डयन प्रशासन (एफएए) ले व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ। यस आदेशका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन्। एफएएको आदेशअनुसार हाल करिब ४ प्रतिशत उडानहरू कटौती गरिएका छन् र यो दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यातायातमन्त्री सिन डफीका अनुसार सरकारी बन्द लामो समयसम्म रहेमा यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ।

उडान रद्द भएपछि यात्रुहरूलाई ठूलो सास्ती भएको छ। ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रुहरू लामो लाइनमा उभिन बाध्य भएका छन्। कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान रद्द भएपछि उहाँ न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल पुग्नुपर्ने र उटाह जाने योजनाका लागि कार भाडामा समेत नपाएपछि 'क्रस–कन्ट्री ट्रक चलाएर जानुपर्ने' अवस्था आएको बताइन्। यस अवस्थाका कारण भाडाका कार कम्पनीहरूमा पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको छ।

उडान टङ्याकिङ वेबसाइट फ्लाइटअवेयर का अनुसार शुक्रबार रद्द भएका उडानहरूको संख्या बिहीबारको तुलनामा पाँच गुणा बढी हो। वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित भयो, जहाँ करिब १८ प्रतिशत उडान रद्द गरिएका थिए। डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ। युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुहरूलाई पुनः बुक गर्न सक्रिय प्रयास भइरहेको बताएका छन्।

ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो। यातायातमन्त्री डफीले सुरक्षा मापदण्ड सुधार नभएसम्म उडान कटौती आवश्यक रहेको बताएका छन्। विश्लेषकहरूका अनुसार हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड भएकाले लामो समयसम्मको बन्दले आपूर्ति शृङ्खला तथा व्यापारिक गतिविधिमा गम्भीर असर पार्न सक्छ। यात्रुहरूका लागि यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्न र वैकल्पिक मार्गको जानकारी तयार राख्न सल्लाह दिएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ