arrow

मधुमेह, मोटोपना र दिर्घरोगीलाई अब अमेरिकाले भिसा नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
trump-sss.jpg

काठमाडौँ। अमेरिकाले अबदेखि मधुमेह र मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ। ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गर्दै अमेरिका प्रवेशमा थप कडाइ गर्ने क्रममा यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

सीबीएस न्युजका अनुसार, अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको यो निर्देशनमा भिसा आवेदकहरू ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाव दिइएको छ।

निर्देशनमा भनिएको छ कि आवेदकको स्वास्थ्यलाई अनिवार्य रूपमा विचार गर्नुपर्छ। कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह, मेटाबोलिक तथा स्नायु रोगदेखि मानसिक स्वास्थ्य समस्यासम्मले अत्यधिक महँगो उपचार आवश्यक पर्न सक्ने भएकाले यस्ता रोगहरूलाई मूल्यांकनमा समावेश गरिनेछ।

यससँगै, भिसा मूल्यांकनमा संक्रामक रोग वा खोप अभिलेख मात्र नभई दीर्घरोग तथा उमेरसम्बन्धी जोखिम पनि प्रमुख तत्वका रूपमा समावेश गरिएका छन्। मोटोपनाले दम, स्लीप एपनिया तथा उच्च रक्तचाप उत्पन्न गराउन सक्ने भएकाले यसलाई पनि 'पब्लिक चार्ज' को जोखिमसँग जोडेर मूल्यांकन गर्न निर्देशनमा उल्लेख छ।

निर्देशनले अधिकारीहरूलाई आवेदकसँग उपचार खर्च धान्न पर्याप्त आर्थिक स्रोत छ कि छैन भन्ने आकलन गर्न भनेको छ। विशेष गरी सरकारी खर्चमा दीर्घकालीन उपचार वा सेवामा निर्भर हुनुपर्ने सम्भावना छ कि छैन भन्नेबारे प्रश्न उठाइनेछ।

यति मात्र होइन, निर्देशले आवेदकका परिवार सदस्यहरूको स्वास्थ्य अवस्थालाई पनि मूल्यांकनमा समावेश गर्ने व्यवस्था मिलाएको छ। आश्रित परिवारमा दीर्घरोग वा विशेष हेरचाह आवश्यक पर्ने सदस्य छन् भने त्यसले आवेदकको रोजगारीमा असर पार्छ कि पार्दैन भन्ने प्रश्न उठाइनेछ।

विश्वको करिब १० प्रतिशत जनसङ्ख्या मधुमेहबाट पीडित रहेको र मुटुरोग विश्वमै मृत्युको प्रमुख कारण बनेको पृष्ठभूमिमा यो कदमलाई थप कठोर मानिएको छ। एएनआईका अनुसार, यो निर्देशनबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने अझै कुनै टिप्पणी गर्न बाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ