असोजको बाढी पहिरोपछि तीन अर्ब ७८ करोडभन्दा बढीको बीमा दावी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
872
Shares
काठमाडौँ। गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षा र त्यसबाट निम्तिएको बाढी पहिरोका कारण बीमा कम्पनीहरूमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको बीमा दावी परेको छ।
बीमा प्राधिकरणका अनुसार, कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि ४३४ वटा बीमा दावीका आवेदन परेका छन्। बीमा दावीमध्ये सम्पत्ति बीमातर्फ ३८२, कृषि तथा बाली बीमातर्फ २०९ र इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ९२ वटा आवेदन परेका छन्। यसबाहेक निजी मोटर बीमातर्फ ३७ र सार्वजनिक मोटर बीमातर्फ १० वटा आवेदन परेका छन्।
जिल्लागत रूपमा सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ। यस्तै, मोरङमा ९०, काठमाडौँमा ८०, पर्सामा ७१, इलाममा ६०, रौतहटमा २८ र झापामा २० वटा आवेदन परेको प्राधिकरणले जनाएको छ।
प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बीमा कम्पनीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। प्राधिकरणका अनुसार, गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ भने गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावी परेको थियो।
हाल नेपालका १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा निर्जीवन लघुबीमा कम्पनीमा यी दावीका आवेदनहरू परेका छन्।