arrow

२० प्रतिशतले घट्यो अफिम खेती

तर सिन्थेटिक लागूपदार्थको उत्पादन बढ्ने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
opium.jpeg

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको छ। यद्यपि, उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनी दिएको छ।

तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए। संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार, अफिम खेतीका लागि समर्पित क्षेत्र सन् २०२४ को १२ हजार ८०० हेक्टरबाट घटेर सन् २०२५ मा १० हजार २०० हेक्टरमा पुगेको छ। सन् २०२२ मा यो क्षेत्र करिब २ लाख ३२ हजार हेक्टरमा फैलिएको थियो।

हेरोइनको प्रमुख स्रोत मानिने अफिमको उत्पादन सन् २०२५ मा करिब २९६ टन मात्र भएको अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको हो। यद्यपि, सुक्खा अफिमको मूल्य प्रतिबन्धपूर्वको औसतभन्दा अझै पाँच गुणा बढी रहेको बताइएको छ। अफिम बिक्रीबाट अफगान किसानहरूको आम्दानी सन् २०२४ मा प्राप्त गरेको २६ करोड अमेरिकी डलरबाट घटेर यस वर्ष १३ करोड ४० लाख डलरमा सीमित भएको छ।

संयुक्त राष्ट्रसङ्घको उक्त निकायले सिन्थेटिक औषधि, विशेषतः मेथामफेटामाइनको उत्पादन र तस्करी तीव्र गतिमा बढ्दै गएको चेतावनीसमेत दिएको छ। प्रतिवेदनमा भनिएको छ, उत्पादनको सहजता, नियन्त्रण निकायका लागि पत्ता लगाउनको कठिनाइ र जलवायु परिवर्तनको असरबाट कम प्रभावित हुने क्षमताका कारण सिन्थेटिक औषधिहरू सङ्गठित आपराधिक समूहहरूका लागि नयाँ व्यापार मोडेलका रूपमा उदाएका छन्।

अफिम प्रतिबन्धपछि धेरै किसानहरू अन्न र अन्य बालीतर्फ आकर्षित भए पनि खडेरी र कम वर्षा जस्ता प्रतिकूल मौसमका कारण ४० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहँदै आएको प्रतिवेदनमा उल्लेख छ। यसले अफगान अर्थतन्त्र र ग्रामीण जीवनमा गम्भीर असर पारेको छ।

संयुक्त राष्ट्रसङ्घले बारम्बार अन्तर्राष्ट्रिय समुदायलाई अफगान किसानहरूलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू उपलब्ध गराउन आग्रह गर्दै आएको छ र तालिबान सरकारले पनि यस विषयमा विश्व समुदायसँग सहयोगको याचना गरेको छ।

प्रतिवेदनले अफिम प्रतिबन्धपछि खेतीयोग्य क्षेत्रहरूमा भौगोलिक परिवर्तन आएको देखाउँछ, जहाँ दक्षिणका तालिबान गढहरूबाट टाढा रहेका उत्तरपूर्वी क्षेत्रमा खेती बढेको र त्यहाँ केही प्रतिरोध पनि देखिएको छ। बदख्सान प्रान्तमा सन् २०२४ को मे महिनामा अफिम खेती नष्ट गर्न पठाइएका सुरक्षाकर्मी र किसानहरूबीच झडप हुँदा कैयौँ नागरिकले ज्यान गुमाउनुपरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ