कांग्रेसको नियमित महाधिवेशन फागुनको चुनावअघि नै हुनुपर्छ
मोहन आचार्य,
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
1k
Shares
आज हामी भदौ २३ र २४ गतेको विषम परिस्थिति पश्चात नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । यहाँ छलफलका विषय धेरै भए पनि फागुन २१ को निर्वाचनलाई केन्द्रित बनाएर छलफल र बहस भइरहेका छन् ।
भदौ २३ र २४ गते जुन घटना घट्यो, हाम्र्रा आदरणीय सभापतिलगायत कोइराला निवास, चाक्सीबारी, स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रम, नेपालको विभिन्न सम्पदा सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, कांग्रेससहित विभिन्न पार्टीका कार्यालयका साथै नेताहरूका घर र निजी सम्पत्तिमाथि जुन घट्ना घट्यो त्यसप्रति दुःख व्यक्त गर्न चाहन्छु । साथै आन्दोलनमा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त, परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
आदरणीय सभापतिज्यू, जेन–जीको आन्दोलन लामो नेपाली जनताको विभिन्न कालखण्डमा उनीहरूको आक्रोश र असन्तुष्टि हो भन्ने कुरा अनुमान गर्न सक्छौँ । कतिपय कुरा हामीले बुझाउन सकेनौँ होला, कतिपय कुरा उहाँहरूले जान्नु भएन होला । तर आजको परिस्थितिमा जेन–जी पुस्ताले जुन आन्दोलन गरेका छन्, उनीहरूले तीन, चार ओटा विषय गम्भीरताका साथ उठाउँदै आएका छन् ।
उनीहरूका विषय भ्रष्टाचार र सुशासन थिए, त्यो भन्दा बढी बेरोजगारीमा छ । सँगसँगै उहाँहरू किन रिसाउनु भएको छ भने हामीले कार्य सम्पादन गर्दै आएको सर्भिस डेलिभरीका कुरामा जनता जुन किसिमले जोडिएका छन् ती विषयमा आम जनतामा वितृष्णा छाएको छ ।
नेपाली कांग्रेस सधैँ जनताका पक्षमा आन्दोलन गरिरहेको पार्टी र पहिलो पटक इतिहासमै नेपाली कांग्रेस सम्मिलित सरकारविरुद्ध नेपाली जनता र नयाँ पुस्ता लागेर आजको परिस्थिति सिर्जित भएको छ । यसप्रति कांग्रेस र नेताहरू गम्भीर र चिन्तित हुनुुहुन्छ भन्ने विश्वास छ ।
नेपाली कांग्रेस एउटा पार्टीमात्र नभएर आमजनताको जीवनीसँग जोडिएको संगठन हो । आजको परिस्थितिमा लोकतन्त्र बिनाको नेपालको कल्पना गर्न सक्छौँ कि सक्दैनौँ ।
यस अर्थमा नेपाली कांग्रेसको जिम्मेवारी अन्य पार्टीभन्दा पृथक छ भन्ने लाग्छ । आम हाम्रा ठूला संख्याका मतदाता र कांग्रेसका कार्यकर्ताका भावना पनि त्यही हुन् भन्ने लाग्दछ ।
यहाँ कुनै व्यक्तिगत कुरा छैनन् । आजको मितिमा सरकार बनिसकेपछि धेरै जस्तो विजनेश हाउसले आफ्नो व्यापार बन्द गरेको अवस्था छ । बजार चलायमान छैन । उनीहरू मात्रै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कसरी अघि बढ्छ अनि परिणाम के आउँछ भन्ने कुरेर बसेका छन् भन्ने मैले बुझेको छु ।
अहिले पनि धेरै संगठन बन्ने तयारीमा छन् तर उनीहरू कांग्रेसले के निर्णय गर्छ भनेर कुरेर बसेका छन् । अरु नयाँ दल दर्ताको प्रक्रियामा छन् तर कांग्रेसकै निर्णय कुरेर बसेका छन् । हामी यो अनुमान लगाउन सक्छौँ सिधै ।
२०७४ र २०७९ सालको समानुपातिक मतको पनि ख्याल गर्नुपर्ने हुन्छ । हामी चुनाव जित्ने र हार्ने अर्को कुरा हो । सबैभन्दा महत्वपूर्ण कुरा आजको परिस्थितिमा फागुन २१ सहज रुपमा निर्वाचन हुन्छ भन्ने लाग्दैन । हामीभित्र जे पनि भन्न सक्छौँ तर आम जनता र कार्यकर्तामा हामीप्रति शंका नै शंका छ । त्यसैले के भन्न चाहन्छु भने तपाईं नेताहरूको सुझबुझ छ, तपाईंहरूले बुझ्नुभएको छ, तपाईंहरूको योगदान धेरै छ, तपाईंहरूले राजनीतिक अभ्यास पनि बुझ्नु भएको छ । आज को दाइ जित्छ, को भाइ जित्छ भन्ने विषय महत्वपूर्ण होइनन् । मलाई लाग्छ जनताले जित्नपर्छ, नेपाली कांग्रेसको सोँच जित्नुपर्छ ।
म आग्रह गर्न चाहन्छु, जति पनि बाहिर विशेष महाधिवेशनको माग राखेर महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बस्नुभएको छ, यसमा पार्टी विधानको १७ (२) आकिर्षत हुन्छ । यसलाई हामीले कसरी सम्बोधन गर्ने हो यसमा नेताहरू गम्भीर हुनुपर्छ भन्ने लाग्छ ।
म के पनि भन्न चाहन्छु भने नेपाली कांग्रेस विशिष्ट समयमा विशेष महाधिवेशनमा गएको थियो । तर यसले राम्रो परिणाम दिन्छ जस्तो लाग्दैन । त्यही भएर मेरो आग्रह छ, निर्वाचन अघि नियमित अधिवेशन गरेर, नयाँ नेतृत्व र नयाँ नीतिका साथ आगामी निर्वाचनमा होमिनुपर्छ । (कांग्रेस केन्द्रीय सदस्य आचार्यले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार गरेको सम्बोधनबाट)