राजस्व सङ्कलनमा सरकार असफल: पहिलो त्रैमासमा लक्ष्यभन्दा ७२ अर्ब कम
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
781
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेको छैन, जसका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन छाडेको छ। सरकारी निकायहरूले राजस्व उठाउन प्रभावकारी रूपमा ध्यान नदिँदा यस्तो स्थिति आएको बताइएको छ।
अर्थ मन्त्रालयका अनुसार, असोज मसान्तसम्ममा सरकारले ३ खर्ब २१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा २ खर्ब ४९ अर्ब मात्रै सङ्कलन गरेको छ, अर्थात् लक्ष्यभन्दा करिब ७२ अर्ब रुपैयाँ कम उठेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २ खर्ब ४८ अर्ब राजस्व उठेको थियो। यस वर्ष राजस्व वृद्धिदर ०.३२ प्रतिशतले मात्रै बढ्नुले सरकारी संयन्त्र राजस्व सङ्कलन गर्न तदारुकताका साथ नलागेको प्रष्ट देखिएको छ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्बको राजस्व सङ्कलनको लक्ष्य लिएको छ। तर, असोज मसान्तसम्ममा राजस्वका कुनै पनि शीर्षकमा उत्साहजनक सङ्कलन नभएको स्वयं अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अर्थ मन्त्रालयका अनुसार, असोज मसान्तसम्ममा भन्सार महसुल ७० अर्ब भन्दा बढी उठाउने लक्ष्य राखिएकोमा ५६ अर्ब ८५ करोड मात्रै सङ्कलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९४ अर्ब ११ करोड को लक्ष्य रहेकोमा ८१ अर्ब २३ करोड मात्रै उठेको छ। अन्तशुल्क तर्फ ४८ अर्ब ६५ करोड को लक्ष्य रहेकोमा ४७ अर्ब ८३ करोड मात्रै राजस्व सङ्कलन भएको छ। सबैभन्दा ठूलो गिरावट आयकरतर्फ देखिएको छ, जहाँ ७१ अर्ब २२ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ४६ अर्ब ९० करोड मात्रै उठेको छ। गैरकर तर्फ पनि ३५ अर्ब ५२ करोड को लक्ष्य रहेकोमा १४ अर्ब ७२ करोड मात्रै सङ्कलन भएको छ।
पहिलो त्रैमासमा राजस्वका लक्ष्य नभेट्नुले आगामी दिनमा सरकारलाई चालु खर्च धान्न समेत राजस्वले नपुग्ने स्थिति आउनसक्ने खतरा देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कअनुसार, अहिले सरकारको दैनिक चालु खर्च झन्डै ३ खर्ब बराबरको छ तर आम्दानी भने दैनिक २ खर्ब ८० अर्ब को मात्रै रहेको छ।