arrow

राहदानी विभागमा भीड

भीडले घेरियो राहदानी विभाग [भिडियो]

छ हजार पासपोर्ट जलेपछि भीड थेगिनसक्नु, सङ्क्रमणकालिन अवस्थाले चाप बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
passport-depart-rahadani-bibhag.jpg

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा पछिल्लो समय राहदानी बनाउनेहरूको थेगिनसक्नु भीड देखिएको छ। विभागका अधिकारीहरूका अनुसार यो भीड बढ्नुमा 'जेन–जी आन्दोलन' सँगै दशैँ-तिहार मुख्य कारकका रूपमा रहेका छन्।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले दिएको जानकारी अनुसार, जेन–जी आन्दोलनका कारण केही राहदानी जलेको र उपकरणमा क्षति पुगेकाले जिल्लाबाट राहदानी वितरण अवरुद्ध हुन पुग्यो, जसले गर्दा सेवाग्राहीहरू विभागमै आउँदा भीड बढेको हो। यस्तै, दशैँ–तिहार मनाउन विदेशबाट आएका नेपालीहरूले नेपालबाटै राहदानी बनाएर फर्किन खोज्दा पनि चाप बढेको उनले बताए।

महानिर्देशक अर्यालका अनुसार राहदानी विभागसँग अहिले १ लाख ७९ हजार राहदानी स्टकमा छ, जुन मासिक ९० हजारदेखि १ लाखसम्मको नियमित मागका लागि करिब २ महिनालाई पुग्नेछ। अहिले दैनिक झन्डै ४ हजार ५ सय देखि ५ हजारको हाराहारीमा राहदानीको माग छ, तर हाल दैनिक २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा मात्र राहदानी उत्पादन भइरहेको छ। विभागले सामान्य प्रक्रियाबाट दैनिक १ हजार र जरुरी परेका २-३ सय गरी करिब १ हजार २०० राहदानी वितरण गरिरहेको छ भने बाँकी जिल्ला प्रशासन र विदेशस्थित नियोगहरूबाट वितरण भइरहेको छ।

राहदानीका लागि पुरानो सम्झौता सकिँदै र नयाँ सम्झौता अनुसार फागुन ११ बाट मात्र आपूर्ति सुरु हुने भएकाले अन्तरिम अवधिमा पुस्तिका अभाव हुन सक्ने सम्भावनाका कारण 'जरुरी पर्नेलाई तत्कालै दिन सकियोस्' भन्ने उद्देश्यले अहिले सेवा कटौती गरिएको अर्यालले बताए।

जेन–जी आन्दोलनका क्रममा करिब ६ हजार राहदानी जलेर नष्ट भएका छन्। जलेका यी राहदानीहरू रि-प्रिन्ट गराउन आउने सेवाग्राहीहरूका कारण पनि विभागमा भीड बढेको महानिर्देशक अर्यालले बताए। उनले जलेका राहदानी एकैपटक बल्कमा रि-प्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको जानकारी दिए।

महानिर्देशक अर्यालले अहिलेको भीडभाड एक–दुई हप्तामै समाधान हुने र त्यसअनुसार काम पनि भइरहेको जानकारी दिएका छन्। यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको र सबै कूटनीतिक च्यानल प्रयोग गरेर समस्या समाधान गर्न लागिपरेको उनको भनाइ छ। अर्यालले सबैलाई आत्तिनुपर्ने केही नभएको र जरुरी पर्ने सबैलाई सहज रूपमा राहदानी दिने गरी व्यवस्था मिलाइने आश्वासन दिँदै एक–दुई हप्ता पर्खिदिन अनुरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ