हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्र हिल्सा नाकाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले मंगलबार नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको ३ सय ५१ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी शंकर पोखरेलको नेतृत्वमा गएको प्रहरी टोलीले खोजतलासी तथा निगरानीका क्रममा उक्त मदिरा फेला पारेको हो । बरामद मदिरा विभिन्न घर, गोठ र गोदाममा लुकाइराखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका ३ सय ५१ कार्टुनमा ४ हजार २ सय १२ बोतल चिनियाँ मदिरा रहेको र त्यसको बजार मूल्य करिब रु २१ लाख ६ हजार बराबर हुने प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ती मदिरा हिल्सा नाकाबाट अवैध रूपमा भित्र्याइएको र स्थानीय व्यापारीहरूले नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा लुकाइछिपाइ गरी हुम्लाका विभिन्न बजारतर्फ लैजाने तयारी भइरहेको जानकारी पाएको बताएको छ ।
सीमावर्ती क्षेत्रमा अवैध रूपमा मदिरा, सामान र उपभोग्य वस्तुहरू भित्र्याउने प्रवृत्ति रोक्न प्रहरी निरन्तर निगरानीमा छ। सीमामा सुरक्षालाई अझ कडा बनाइएको डीएसपी पोखरेलले बताए ।
प्रहरीले बरामद मदिरा हाल सिमकोट ल्याई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।