दक्षिण कोरियाले एआईमा तीन गुणा र रक्षा बजेटमा ठूलो वृद्धि गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
1.8k
Shares
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको सरकारले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी बढाउने र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ।
राष्ट्रपति लीले मङ्गलबार संसद्मा प्रस्तुत गरेको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ निर्णायक रूपमा अघि बढ्ने’ घोषणा गरे।
राष्ट्रपति लीले १०१ खर्ब वोन (करिब सात अर्ब अमेरिकी डलर) को लगानीद्वारा दक्षिण कोरियालाई संयुक्त राज्य अमेरिका र चीनसँगै विश्वका शीर्ष तीन एआई शक्तिहरूमध्ये एक बनाउने लक्ष्य लिएको बताए। उनले 'हामी एआई युगको नयाँ अध्याय खोल्दैछौँ, जसका लागि लगानी अभूतपूर्व रूपमा विस्तार गरिनेछ' भने। उक्त रकम यस वर्षको एआई सम्बन्धी बजेटभन्दा तीन गुणा बढी हो।
सन् २०२६ का लागि प्रस्तुत गरिएको सरकारी बजेटको कुल आकार सात हजार २८० खर्ब वोन रहेको छ, जुन चालु वर्षको तुलनामा ८.१ प्रतिशतले बढी हो। राष्ट्रपति लीको डेमोक्रेटिक पार्टीले संसद्मा बहुमत राखेकाले बजेट पारित हुने सम्भावना प्रबल देखिएको छ।
रक्षा क्षेत्रको बजेटमा समेत उल्लेखनीय वृद्धि प्रस्ताव गरिएको छ। राष्ट्रपतिले यस वर्षको तुलनामा ८.२ प्रतिशत बढाएर ६६३ खर्ब वोन पुऱ्याउने लक्ष्य राखेका छन्। यदि यो पारित भयो भने सन् २०१९ पछि यो सबैभन्दा ठूलो वार्षिक वृद्धि हुनेछ। उनले परम्परागत हतियार प्रणालीहरूलाई सुधार्दै एआई युगका लागि उपयुक्त अत्याधुनिक प्रविधि अपनाउने र त्यसले सेनालाई छिटो एक बुद्धिमान र सक्षम शक्तिमा रूपान्तरण गर्ने बताए।
राष्ट्रपति लीका अनुसार आगामी वर्षको एआई बजेटमध्ये २६ खर्ब वोन उद्योग, दैनन्दिन जीवन र सार्वजनिक क्षेत्रमा एआई प्रविधिको विस्तारमा खर्च गरिनेछ भने ७५ खर्ब वोन प्रतिभा विकास र पूर्वाधार निर्माणमा लगानी हुनेछ। दक्षिण कोरिया विश्वका दुई ठूला मेमोरी चिप उत्पादक कम्पनी—सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स—को गृह देश हो।
राष्ट्रपति लीले जुन महिनामा पदभार ग्रहण गरेदेखि उत्तर कोरियासँग पूर्व शर्तबिनाको संवाद र पारस्परिक सम्मानको नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। उनले मङ्गलबारको सम्बोधनमा दक्षिण कोरियाले अहिले नै उत्तर कोरियाको वार्षिक कुल गार्हस्थ्य उत्पादनको डेढ गुणा रक्षा क्षेत्रमा खर्च गरिरहेको र आफ्नो देश विश्वका पाँचौँ शक्तिशाली सैन्य राष्ट्रहरूको सूचीमा पर्ने बताए।