arrow

दोहामा राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
gutures-ramchandra.jpg

काठमाडौँ। ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेटवार्ता गरे।

राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले राससलाई दिएको जानकारी अनुसार, भेटका अवसरमा उहाँहरूबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भयो।

राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति संयुक्त राष्ट्रसङ्घसँग निकट सम्पर्कमा रहेर नेपालले काम गर्ने बताए।

राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनाका साथै सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। नेपालले कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रताडित भएकाले जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तरराष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरेको राष्ट्रपतिको कथन थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ