काठमाडौँ। गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाहरूको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रु छ करोड २४ लाख सङ्कलन भएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सोमबार बेलुकासम्म उक्त रकम कोषमा जम्मा भएको जानकारी दिए। जेन–जी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो।
सरकारले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आर्थिक सहयोग जुटाउन गत असोज २८ गते सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ–संस्थालाई औपचारिक रूपमा सहयोगका लागि आह्वान गरेको थियो।
सहयोगकर्तालाई प्रोत्साहन गर्न सरकारले चालू आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ। कोषमा सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैङ्क’ सिंहदरबार शाखामा खोलिएको १९६०१००१०२०७०००४ विशेष खातामार्फत व्यवस्थापन गरिँदैछ।