माधवको खोटले विभाजन: झलनाथले गरे एस 'पुनर्गठन' को घोषणा, अन्यत्र विलय नहुने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
1.1k
Shares
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको 'खोटका कारण' पार्टी विभाजित भए पनि कुनै पनि हालतमा अन्य दलमा विलय नहुने भन्दै पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्।
नेता खनालले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अन्य कुनै पार्टीमा 'निहुरिएर प्रवेश नगर्न' र 'स्वाभिमानका साथ' पार्टी पुनर्गठन अभियानमा लाग्न हार्दिक अनुरोध गरेका छन्।
नेता खनालले अध्यक्ष नेपालको नेतृत्वका कारण पार्टी विभाजित भई अर्को फ्याक्सन विलय हुन लागेको अवस्थालाई 'गलत कुरा' भन्दै अब आफूहरू नयाँ पार्टी निर्माण गर्न बाध्य भएको बताए। उनले 'देब्रे दाहिने' नलागी एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई पुनःजागृत गर्दै नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने बताए।
उनले तमाम भ्रष्टाचार, कुशासन, वर्ग र जातीय भेद समाप्त भएको, नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र, स्वाधीन र समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न नयाँ पार्टी आवश्यक भएको जिकिर गरे।