arrow

फाइभजी र रोबोटको प्रयोग: चार हजार किमि टाढाबाट सफल आँखाको शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
eye test.jpg
तस्बिर फाइल

काठमाडौँ। चीनको एक मेडिकल टोलीले फाइभजी जडित रोबोटको प्रयोग गरी झन्डै चार हजार किलोमिटर टाढा रहेका बिरामीको आँखाको सफल शल्यक्रिया गरेको छ। प्रविधिमा आधारित यस सफलतालाई विकसित र दुर्गम क्षेत्रबीचको चिकित्सा सेवाको खाडल कम गर्ने महत्त्वपूर्ण कदम मानिएको छ।

आइतबार उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा दक्षिणी शहर ग्वाङझाउका शल्य चिकित्सकहरूले रिमोट नियन्त्रणमार्फत यो जटिल शल्यक्रिया सम्पन्न गरेका हुन्।

शल्यक्रियाका क्रममा उरुम्कीमा रहेको रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेको थियो। ग्वाङझाउका शल्य चिकित्सकहरूले टाढैबाट रोबोटको हातलाई नियन्त्रण गरी सुईलाई रेटिनाको सतहमा लगेर पूर्व–निर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए।

टाढाबाट उपकरणको सहयोगमा गरिएको यो सम्पूर्ण शल्यक्रिया सात मिनेटभन्दा कम समयमा पूरा भएको बताइएको छ। शल्यक्रिया अवधिभर नेटवर्क पूर्ण रूपमा स्थिर रहेकोले रोबोटले कुनै कम्पन बिना सजिलैसँग काम गरेको थियो।

यो ‘सवरेटिनल इन्जेक्सन’ एक अत्यन्त नाजुक माइक्रोसर्जिकल प्रविधि हो, जुन ‘सबम्याकुलर हेमोरेज’ जस्ता अन्धा बनाउने विकारहरूमा बिरामीको दृष्टि बचाउन प्रयोग गरिन्छ।

सन यात–सेन विश्वविद्यालयको झोङशान आँखा उपचार केन्द्रका परियोजना प्रमुख लिन हाओटियनले भने, “यो क्लिनिकल शल्यक्रिया चीनमा रिमोटद्वारा आँखाको शल्यक्रियाको सफल उपचारको सम्भाव्यता र व्यावहारिकतामा एक महत्वपूर्ण फड्को हो।” यस प्रविधिले दुर्गम क्षेत्रका बासिन्दालाई विशेषज्ञ चिकित्सा सेवाहरू सहजै उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ