काँकरभिट्टा नाकाबाट पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड बढीको कृषिजन्य वस्तु निर्यात
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
971
Shares
भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार मूल्यबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार, उक्त अवधिमा निर्यात हुने मुख्य वस्तुहरूमध्ये अलैँची सबैभन्दा अग्रस्थानमा छ, जसको निर्यात मूल्य रु एक अर्ब ५१ करोड ८१ लाख पुगेको छ। त्यसैगरी, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४ लाख, भेनियर रु २७ करोड २८ लाख र अम्लिसो रु १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ। यसका अतिरिक्त, अदुवा रु ११ करोड ९० लाख, ताजा तरकारी रु नौ करोड ४७ लाख, मसुरो दाल रु सात करोड ४१ लाख र जडीबुटी रु एक करोड २४ लाख मूल्यबराबरको निर्यात भएको तथ्याङ्कले देखाउँछ।
सोही अवधिमा पूर्वीनाका काँकरभिट्टाबाट रु एक अर्ब ४५ करोड १३ लाख ६५ हजार मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ। आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, चामल, ताजा तरकारी र फलफूललगायत रहेका छन्। क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार, आयात भएका वस्तुहरूमध्ये आलु रु ३० करोड ७७ लाख, ताजा फलफूल रु २३ करोड ६७ लाख, लसुन रु १७ करोड ९९ लाख, कोदो रु छ करोड २० लाख, चामल रु चार करोड ९६ लाख र तरकारी रु तीन करोड छ लाख मूल्यबराबरको रहेको छ।