आज वैकुण्ठ चतुर्दशी: हरि-हर मिलनको उत्सव र भीष्मपञ्चकको प्रारम्भ
स्नान, दान, जप र ध्यान गरी मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
1k
Shares
काठमाडौँ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज देशभर स्नान, दान, जप र ध्यान गरी मनाइँदै छ। यस पर्वमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
वैकुण्ठ चतुर्दशीका दिन भगवान् विष्णुको पूजा गरी रातभर जाग्राम बस्ने प्रचलन छ। यो चतुर्दशी शिव र विष्णु दुवैसँग सम्बन्धित रहेको मानिन्छ, जसलाई क्रमशः शिव वैकुण्ठ र विष्णु वैकुण्ठ भनिन्छ। शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशीलाई र उपवासका लागि अहोरात्रको चतुर्दशीले युक्त दिनलाई उत्तम मानिएको छ।
पण्डित बालमुकुन्द देवकोटाका अनुसार, वैकुण्ठ भगवान् विष्णुका बहुसङ्ख्यक नाममध्ये एक हो, जसको अर्थ ‘कुण्ठा नभएको ज्ञान वा स्थान’ हुन्छ। उनले महाभारतको शान्ति पर्वलाई उद्धृत गर्दै जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रूपमा जसको प्रसिद्धि छ, त्यसलाई पनि ‘वैकुण्ठ’ भनिने बताए। पौराणिक मान्यताअनुसार, जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वी, जल, आकाश, वायु र तेजलाई अविचल हुने गरी मिलाएकाले उनको नाम ‘वैकुण्ठ’ रहेको हो।
यस दिन पूजा गर्न नसके पनि विष्णुका नाम मात्रको उच्चारणले ठूलो पुण्य प्रदान गर्ने र आपत्विपत्बाट बचाउने विश्वास गरिन्छ। आजकै दिनदेखि भीष्मपञ्चक पनि सुरु हुन्छ, जुन महाभारतको शान्ति पर्वमा भीष्मले युधिष्ठिरसहित पाण्डवहरूलाई सम्पूर्ण दुःखबाट पार पाउन विष्णु स्तुति गर्न सम्झाएको समय हो।
वैकुण्ठ चतुर्दशीलाई हरि (विष्णु) र हर (शिव) मिलनको उत्सव को रूपमा पनि मनाइन्छ। हरिशयनी एकादशीका दिन क्षीर सागरमा शयन गरेका विष्णुले कार्यभार भगवान् शिवलाई सुम्पिएका थिए। आजका दिन भगवान् शिवले सो कार्यभार विष्णुलाई दिएर कैलाश फर्कने विश्वास गरिन्छ।
आजकै दिन भगवान् विष्णु पालनकर्ताका रूपमा जागा भई वैकुण्ठधाम गएको पौराणिक मान्यता रहेको पण्डित देवकोटाले बताए। काठमाडौँ उपत्यकामा रहेको विष्णुमती नदी (विष्णुपादुकाबाट उत्पत्ति भएको) र बूढानीलकण्ठको विष्णु मूर्ति यस पर्वसँग जोडिएका महत्त्वपूर्ण स्थलहरू हुन्।