arrow

वर्षाले गर्दा सामाचकेवामा रमाइलो गर्न पाएनन् मिथिलानीले, आज पर्व समापनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
samachakeba.jpg

महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा यस वर्ष मिथिलानी (मिथिलाका नारी) ले कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म ११ दिन मनाइने दाजुभाइ-दिदीबहिनीबीचको प्रेम र समर्पणको प्रतीक सामाचकेवा पर्वलाई मन फुकाएर खेल्न पाएका छैनन्। पर्वको मध्यतिर लगातार पाँच दिनसम्म परेको पानीले रातिको समयमा खुला ठाउँमा गरिने दाजुभाइको सौर्य बखान र ऐश्वर्य गाथा गाउने यो पर्वलाई प्रभावित पारेको स्थानीयहरू बताउँछन्।

वर्षाका कारण रमाइलो गर्न नपाए पनि अब भने मिथिलानीहरू पर्वको समापनको तयारीमा जुटेका छन्। कात्तिक पूर्णिमाका दिन यो पर्वको विधिवत् समापन गरिँदैछ। भङ्गाहा–७ की रङ्गिला चौधरी थारुले मौसम राम्रो नहुँदा सामा राम्ररी मनाउन नपाएको बताउँदै बाँकी विधिहरू रमाइलो गर्दै समापन गर्ने र दाजुलाई समापनमा आउन खबर गरिएको जानकारी दिइन्।

पर्व समापनको बेला नजिकिएसँगै मिथिलानीहरू आफ्ना दाजुभाइलाई पर्वका लागि खबर दिन व्यस्त छन्। समापनमा दाजुभाइहरूबाट सामा खेलका माटाका आकृतिहरू घुँडामा राखेर फुटाउन लगाउने र मिष्ठान्न परिकार खुवाउने परम्परा रहेकाले दिदीबहिनी दाजुभाइलाई बोलाउन व्यस्त बनेका हुन्। बर्दिवास–२ की सङ्गीता मुखियाले दाजुलाई खबर गरिसकेको र उहाँका लागि मिष्ठान्न परिकार जुटाउन लागेको बताइन्।

मिथिलानीहरू रातिको समयमा समूहमा जम्मा भएर आ-आफ्ना दाजुभाइको प्रेम र सौर्य बखान गर्दै सामा गीत गाउँछन्। यस क्रममा साथीसङ्गीबीच ख्यालठट्टा र जमघटको रमाइलोले ११ दिन बितेको पत्तै नहुने बर्दिवास–९ की सुधा महतोले बताइन्। दाजुभाइलाई पनि दिदीबहिनीबाट पाउने प्रेम र समर्पणले हर्षित बनाउने तथा दिदीबहिनीले गीतमार्फत दर्शाएको प्रेमभावले ऊर्जा दिने भङ्गाहा–४ का नन्दन चौधरी थारुको भनाइ छ।

मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णले यो पर्व द्वापरयुगदेखि सुरु भएको विश्वास गरिने बताए। पौराणिक कथाअनुसार, श्रीकृष्णकी छोरी सामा ले प्रेमी चक्रधर (चकेवा) सँग प्रेम सम्बन्ध राखेको कुरा चुगला (कुरौटे) ले कृष्णलाई भन्दा रिसले दुवैलाई चरा हुने श्राप दिएका थिए। कृष्ण पुत्र साम्ब ले शिवजीको तपस्या गरी पितालाई रिझाएर उनीहरूलाई श्रापमुक्त गराई विवाह गराइदिएका थिए। दाजु साम्बको यही गुन सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको कर्णले बताए।

पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट माटाका आकृतिहरू घुँडामा राखेर फुटाउन लगाई जोतिएको खेत वा निर्जन वनमा गाडेर समापन गरिन्छ। समापनसँगै दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न परिकार खुवाउने र दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिने चलन छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ