सर्वोच्चको आदेश लत्याउँदै कार्की सरकारले फेरि फिर्ता बोलायो राजदूतहरूलाई
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
1.9k
Shares
फाइल तस्बिर
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय फेरि गरेको छ । अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि उनीहरूलाई परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले मन्त्रालयमा बोलाएर हाजिर गराउने गरी पत्र पठाउन निर्देशन दिएकी हुन् ।
आइतबार सर्वोच्च अदालतले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएपछि सोमबार प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट नेपाल फर्कन पत्र पठाइएको हो ।
मन्त्रालयका सहसचिव सुरेन्द्रकुमार यादवले लेखेको पत्रमा नेपाल आउनका लागि यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गरी कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्कमा आइपुग्न भनिएको छ ।
गत असोज ३० गते सरकारले कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
फिर्ता बेलाइएका राजदूतमा चीनका प्रा डा कृष्णप्रसाद ओली, जर्मनीका डा शैल रुपाखेती, इजरायलका प्रा धनप्रसाद पण्डित, मलेसियाका डा नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जङ्गबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा दुर्गाबहादुर सुवेदी रहेका छन् ।