आर्थिक स्थायित्व र सुरक्षाका लागि सरकारलाई सहयोग गर्न निजी क्षेत्र प्रतिबद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
1k
Shares
काठमाडौं। नेपालका व्यावसायिक संस्थाका छाता सङ्गठनहरूले मुलुकको आर्थिक स्थायित्व, व्यावसायिक सुरक्षा र सुशासनका लागि अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। निजी व्यावसायिक संस्थाका प्रतिनिधिहरूले सोमबार राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारका अनुसार, निजी क्षेत्रको बैठकले कानूनको प्रभावकारी कार्यान्वयन मार्फत व्यावसायिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ। उनीहरूले राज्यले उद्यमी र व्यवसायीहरूको सुरक्षालाई अपरिवर्तनीय दायित्व को रूपमा स्वीकार गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
निजी क्षेत्रले आसन्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने र लोकतान्त्रिक अभ्यासको निरन्तरताका लागि सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ। उनीहरूको माग छ कि बदलिँदो आर्थिक अवस्थासँग सन्तुलन कायम गर्दै सरकारी कार्यालयहरूबाट प्रवाह गरिने सेवा, प्रक्रिया र सहजीकरणलाई व्यवसायमैत्री बनाउन सरकारले ठोस कदम चाल्नुपर्छ। निजी क्षेत्रका प्रतिनिधिहरूले सुशासन र भ्रष्टाचार अन्त्यमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशको आर्थिक वृद्धि र लगानी सुरक्षाको लागि स्थिर नीति अपरिहार्य रहेकोमा जोड दिए। उनले भने, “सरकार त परिवर्तन हुँदो रहेछ तर कम्तिमा एउटा स्थिर नीति हुनुपर्छ।” उनले बारम्बार नीति परिवर्तन भइरहँदा लगानी सुरक्षामा जोखिम बढेको भन्दै, निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्न र लगानीको ग्यारेन्टी लिन सरकारसँग आग्रह गरे। उनले निजी क्षेत्रको भूमिकालाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड का रूपमा व्याख्या गर्दै आर्थिक उन्नति र लगानी सुरक्षित गर्न सबै निजी क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिए।