arrow

कलासँग रमाइलो थ्रीडी कला संग्रहालय [फोटोफिचर]

logo
ममुन केसी, 
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
3D-kala-82-7-17a (12).jpg
तस्बिर : ममुन केसी, नेपाल फोटो लाइब्रेरी ।

ललितपुर । ललितपुर टिकाथलीको एउटा कुनामा पेन्टिङका भित्ताहरू बोल्छन्, छाया हाँस्छ र दृश्यहरूले दर्शकलाई आफूभित्र तान्छन्। कोही उडिरहेको चराको पखेटामुनि उभिएको छ त कसैले हिमपातमा हराएको जस्तो अभिनय गर्छ।

यो कुनै सपनाको दृश्य होइन, यो त थ्रीडी कला संग्रहालय हो, जहाँ कला केवल हेर्ने होइन, महसुस गर्ने कुरा हो । यसको पछाडि छन् सुन्दर बिष्ट, जो आर्टसाला नेपाल प्रा. लि. का संस्थापक अध्यक्ष हुन् । उनी पेशाले म्युरल कलाकार हुन् ।

उनले नेपालका कलाकारहरूको सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सपना बोकेका थिए। उनी भन्छन्, “नेपाल सरकारको प्रतिनिधित्व गर्दै बैंकक पुगेको बेला ‘आर्ट इन प्यारेडाइज’ नामको संग्रहालय देखेँ। मानिसहरू चित्रभित्र पसिरहेका थिए, रमाइरहेका थिए। त्यो दृश्यले मलाई छोयो।”

त्यही अनुभवको बीउ अहिले टिकाथलीको थ्रीडी कला संग्रहालय बनेर फुलिरहेको छ। गत कात्तिक १ गते वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बागमती प्रदेशका पर्यटन मन्त्री सुरेश श्रेष्ठ तथा देशका अन्य ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा यसको औपचारिक उद्घाटन गरिएको थियो।

थ्रीडी कला संग्रहालयको नारा छ- “कला, रमाइलोपन र प्रकृति एउटै ठाउँमा।” बिष्ट भन्छन्, “यी तीनवटा तत्वले जीवनलाई सन्तुलित बनाउँछन्। कला ध्यानजस्तै हो । जब मानिस रमाइलोपन र प्रकृतिसँग मिसिन्छ, तब मात्र जीवन खुसी हुन्छ।”

त्यही दर्शन यहाँका प्रत्येक कुनामा देखिन्छ।

थ्रीडी कला हल भित्र फरक–फरक थिमका दर्जनौं कलाकृतिहरू छन्- जहाँ आगन्तुकहरूले चित्रसँगै खिचिएका आफ्नै तस्बिरहरूमा आफूलाई कलाको भागझैँ देख्न सक्छन्।

बाहिर निस्कँदा सानो प्राणी उद्यान (मिनी जू) देखिन्छ, जहाँ बालबालिकाले जनावरलाई नजिकबाट हेर्न र खान दिन सक्छन्। त्यसैगरी, प्ले जोनमा साना बच्चाहरू ट्रेन, ट्राम्पोलिन र अन्य रमाइला गतिविधिमा व्यस्त देखिन्छन्।

आर्ट क्याफेमा आगन्तुकहरूले खाना वा पेय पदार्थको आनन्द लिनका साथै आफ्नै चित्र पनि बनाउन सक्छन्। साथै, आर्टसाला विद्यालय अफ आर्टमार्फत विभिन्न उमेर समूहका विद्यार्थीहरूलाई चित्रकला, म्युरल र अन्य दृश्यकलाका प्रशिक्षणहरू दिइन्छ।

“हामीसँग अहिले स्थायी रूपमा करिब १५ जना परिपक्व कलाकार छन्, साथै परियोजनाको आधारमा कलाकारहरूको संख्या २५ हाराहारी रहन्छ,” बिष्ट भन्छन् ।
यसबाहेक यहाँ संस्कृतिक संग्रहालय पनि छ, जहाँ पुराना पुस्ताले बाँच्ने जीवनशैलीलाई पुनःजीवित पारिएको छ। हाम्रो पुर्खाहरूको घर, खेतीपाती र कामकाजी जीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

संग्रहालयमा भेटिएकी शिक्षक समिक्षा श्रेष्ठ आफ्ना विद्यार्थीहरूसँग रमाउँदै थिइन्। “यहाँ आउँदा बच्चाहरूको खुशी अनुहारमा देखिन्छ,” उनले भनिन्, “कक्षाकोठा बाहिर पनि कला सिक्न सकिन्छ भन्ने कुरा उनीहरूले यहाँ महसुस गर्छन्।”

परिवारसहित आएका सन्देश राईले भने, “सँगै समय बिताउन र सबै उमेरका मानिसका लागि रमाइलो ठाउँ रहेछ।” 

संग्रहालयले वर्षभर १२ वटा सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू आयोजना गर्छ। बिष्टले भने, “हामी प्याब्सन र अन्य शैक्षिक संस्थासँग सहकार्य गरेर बच्चादेखि वयस्कसम्मका लागि कला–वर्कशप, हाइक, सांस्कृतिक कार्यक्रम र आर्ट क्याम्प गर्छौं।”

हाल यसका शाखा थानकोट र नुवाकोटमा सञ्चालनमा छन् । आगामी नयाँ वर्षदेखि पोखरामा नयाँ शाखा सुरु गर्ने तयारी भइरहेको छ। “नेपालमा पर्यटन भन्नासाथ हामी प्रकृति सम्झन्छौं,” बिष्ट भन्छन्, “तर कला पनि पर्यटन हो। हामीले यसलाई व्यावसायिक रूपमा अघि बढायौं भने यो क्षेत्रले नेपाली अर्थतन्त्र र पहिचानमा ठूलो योगदान दिन सक्छ।”

उनका अनुसार थ्रीडी कला संग्रहालय केवल मनोरञ्जन होइन, मानव मनको उपचार पनि हो। “आज मानिसहरू खुशी खोज्दै छन्- कतिले पैसामा, कतिले नाममा, तर अन्ततः खुशी आफैंभित्र हुन्छ,” उनी भन्छन्, “कला त्यसलाई बाहिर ल्याउने माध्यम हो।”

 

3D-kala-82-7-17a (5).jpg
3D-kala-82-7-17a (6).jpg
3D-kala-82-7-17a (7).jpg
3D-kala-82-7-17a (8).jpg
3D-kala-82-7-17a (9).jpg
3D-kala-82-7-17a (10).jpg
3D-kala-82-7-17a (11).jpg
3D-kala-82-7-17a (12).jpg
3D-kala-82-7-17a (13).jpg
3D-kala-82-7-17a (14).jpg
3D-kala-82-7-17a (1).jpg
3D-kala-82-7-17a (2).jpg
3D-kala-82-7-17a (3).jpg
3D-kala-82-7-17a (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ