जेन-जी आन्दोलनपछि दुबईद्वारा भिसा रोक, अन्य देशको पनि सुरक्षा चासो बढ्यो
तीन महिनामै दुई लाख बढीले लिए श्रम स्वीकृति
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
992
Shares
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोजसम्म) मा २ लाख १० हजार ५ सय १६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश प्रस्थान गरेका छन्। वैदेशिक रोजगार विभागकाअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या ३९ हजार ९ सय १३ जनाले बढी हो। गत आवमा १ लाख ७० हजार ६ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि संयुक्त अरब इमिरेटस (युएई), साउदी, कतार लगायतका प्रमुख श्रम गन्तव्यहरूमा नेपाली श्रमिक रोकिएको चर्चा चले पनि तथ्याङ्कले विदेशिने क्रम नरोकिएको देखाउँछ। असोज महिनामा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले जेन–जी आन्दोलनपछि दुबई (युएई) ले कामदारको मात्र नभई विद्यार्थी भिसासमेत रोकेको जानकारी दिएका छन्। उनले अन्य देशले पनि सुरक्षामा चासो देखाएको बताए।
गुरुङका अनुसार, “नेपालका जेलबाट कैदीहरू भागेका कारण कतै अपराधी त आएको छैन भनेर बुझाइका कारण ती देशहरूले चासो देखाइरहेका छन्।” यद्यपि, दुबई बाहेक अन्य देशले धेरै कडाइ नगरेको उनको भनाइ छ।
विभागले भने श्रम गन्तव्यमा गरिएको श्रमिकमैत्री कानून परिमार्जन, श्रम स्वीकृति सेवाको पूर्ण अनलाइन प्रणाली र गन्तव्यमा श्रमिक अभावका कारण माग बढेकोले विदेशिनेको सङ्ख्यामा वृद्धि भएको अनुमान गरेको छ।