arrow

दासढुङ्गा–मुग्लिन क्षेत्र पहिरोका कारण उच्च जोखिममा, नियन्त्रण योजना अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
mugling-chitwan-82-6-18rr.jpg

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गादेखि मुग्लिनसम्मको क्षेत्र पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ। यस सडकखण्डमा पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुक्खा पहिरो खस्ने समस्याले यात्रुहरूलाई निरन्तर सास्ती दिइरहेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इ कृष्णप्रसाद आचार्यका अनुसार, विसं २०३३ मा चीन सरकारको सहयोगमा मिडियम लेनमा निर्माण भएको यो सडक विसं २०७५ मा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा विस्तार गरिए पनि भू–बनोटका कारण प्राकृतिक जोखिमबाट भने अझै सुरक्षित हुन सकेको छैन। आचार्यले दासढुङ्गादेखि मुग्लिनसम्मको क्षेत्रमा अधिकांश स्थानमा भाँचिएको ढुङ्गा (फ्याक्चर्ड रक) का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको बताएका छन्।

पछिल्ला वर्षहरूमा तुइनखोला, कालीखोला र नाम्सीखोलामा पहिरोको जोखिम बढेको छ। यो वर्ष तुइनखोलामा १६० मिटर, नाम्सीखोलामा १५० मिटर र कालीखोलमा ५० मिटर पहिरोको उच्च जोखिम रहेको उनले जानकारी दिए।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार, यसअघि तुइनखोलासहित विभिन्न ठाउँमा पहिरो नियन्त्रणका लागि रु ३९ करोडको लागत अनुमान तयार गरी विभागमा पेस गरिएको थियो। तर, तुइनखोला नजिकैको मुख्य पहाडको स्वरूप पहिरोले परिवर्तन गरेपछि कार्यालयले नियन्त्रणका लागि पुनः लगत तयार गर्न फाइल सडक विभागमा पेस गरेको छ। पटक–पटक पहिरो खस्दा सडक जोखिमपूर्ण बनेको छ।

प्रमुख लामिछानेले यही हिउँदमा पहिरो नियन्त्रणको काम गर्नुपर्ने भएकाले विभागलाई यथासक्य छिटो निर्णय प्रक्रियामा लैजान आग्रह गरेका छन्। डिभिजन सडक कार्यालयले जोखिमपूर्ण क्षेत्रमा रोकथामको काम गर्न गत वर्षनै विभागमा प्रस्ताव गरेको भए पनि समयमा ध्यान नदिँदा यो वर्षातमा यात्रुहरूले दुःख पाएको बताइएको छ। राजधानी काठमाडौँ र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूका लागि यो सडक लाइफलाइन का रूपमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ