काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको वाम आन्दोलन एकपटक फेरि वैचारिक मोडमा आइपुगेको बताएका छन्। उनले नेकपा एमालेमा फर्कने सम्भावनालाई खुला राख्दै, त्यसका लागि पार्टीले ‘समाजवादी क्रान्तिको बाटो’ अनिवार्य रूपमा अपनाउनुपर्ने शर्त अघि सारेका छन्।
खनालले एमालेप्रति आफ्नो भावनात्मक लगाव भए पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन विकसित हुन नसकेको भन्दै कडा आलोचना गरे। उनले एमाले एकताको शर्त स्वीकार्न तयार नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको ठहर गरेका छन्। यद्यपि, उनले माओवादी केन्द्रभित्र पनि पुनर्गठनको प्रयास भइरहेको र वैचारिक एकरूपता भएमा निकटता सम्भव रहेको सङ्केत दिएका छन्।
खनालले एमाले फर्कनका लागि जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउनुपर्ने जोड दिएका छन्। उनले वार्ताका लागि चार आधारभूत शर्तहरू प्रस्ताव गरेका छन्, जसमा माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने, नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने र देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने सङ्कल्प गर्ने कुराहरू रहेका छन्। यी शर्तहरूमा एकरूपता हुनेबित्तिकै वार्ता सुरु गर्ने उनले स्पष्ट पारेका छन्।
पूर्वप्रधानमन्त्री खनालले एमालेलाई आफ्नो जीवनको वैचारिक सन्तानको रूपमा माने पनि ओलीजीमा ‘सुस्थिर चिन्तनको अभाव’ रहेको भन्दै पार्टीभित्रको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तिको आलोचना गरे। उनले पार्टीले बीचमा उत्पन्न भएका गलत चिन्तन र विचारहरूलाई सच्याएर वैचारिक धरातलमा सही बाटोमा फर्किनुपर्ने आवश्यकता औंल्याए।
देशको वर्तमान राजनीतिक संकटको निकासका लागि खनालले निर्वाचन पहिलो विकल्प नभएको बताए। उनले संसद पुनःस्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन गरेर राष्ट्रिय सहमति बनाएर मात्र मुलुकलाई अघि बढाउन सकिने तर्क राखे। उनले प्रमुख पार्टीहरूको नेतृत्व यो कार्यकालमा फेल खाएको ठहर गर्दै नयाँ पुस्ताका सक्षम र भिजनयुक्त नेताहरूलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्।