वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई हटाउन प्रधानमन्त्रीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
843
Shares
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री तथा पर्यटनमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्।
आज सिंहदरबारमा निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले यस्तो निर्देशन दिएकी हुन्। निगमको वर्तमान 'दर्दनाक अवस्था' प्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, "जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?"
उनले निगमभित्रका बेथिति हटाउनका लागि कसैको मुख नहेरी कठोर रूपमा लाग्न निर्देशन दिइन्। साथै, निगम सुधारका लागि बनेका प्रतिवेदनहरूलाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्न पनि उनले जोड दिइन्।
कार्यक्रममा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले निगम हाल १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।