वीरगञ्जका क्यासिनोहरू मनोरञ्जन कर नतिरी सञ्चालित, नेपाली सहजै प्रवेश, जुवाले स्थानीयको बिल्लीबाठ
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
1.6k
Shares
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले यहाँ सञ्चालित क्यासिनोहरूलाई कर छुट दिएको पाइएको छ। महानगरले यहाँ सञ्चालित क्यासिनोहरूबाट लाखौँ रुपैयाँ मनोरञ्जन कर लिने कानूनी प्रावधान भए पनि मोलाहिजा गरेको पाइिएको छ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित क्यासिनोहरूबाट प्रति क्यासिनो रु तीन लाखको दरले वार्षिक मनोरञ्जन कर असुली गरेको भए पनि वीरगञ्जका क्यासिनोहरूलाई छुट प्रदान गरिएको छ।
वर्षौंदेखि वीरगञ्जको सुरज होटल र लर्ड्स दियालोमा सञ्चालनमा रहेको फर्चुन सिटी गेमिङ क्लब र किङ्स क्यासिनोले वीरगञ्ज महानगरलाई मनोरञ्जन कर बुझाएका छैनन् । वडा नं. १० का वडा अध्यक्ष सुशीलकुमार कानले उनको वार्डमा रहेको किङ्स क्यासिनोले मनोरञ्जन कर तिरेको बारेमा सोध्दा गैरजिम्मेवार जवाफ दिँदै भने, 'यो मेरो काम होइन, पैसा कमाइरहेका छन्, तिर्छन् होला तर मलाई थाहा छैन ।'
मनोरञ्जन करको लागि एक पटक बैठक डाकिएको तर कति बुझाउने भनेर सहमति नजुटेकाले व्यवसायिक करमात्र बुझाएको एक क्यासिनोका सञ्चालकले बताए।
वीरगञ्ज महानगरपालिकाका कार्यकारी अधिकृत अरविन्दलाल कर्णले एक पटक आफूहरूले क्यासिनो सञ्चालकहरूलाई डाकेर छलफल गरेको स्वीकार्दै 'उनीहरूले हामी संघीय सरकारलाई कर तिरिरहेका छौं, तपाईंहरू दोहोरो मनोरञ्जन कर किन लिने ?' भनेर बखेडा झिकेर तिर्न आनाकानी गरेको बताए । उनले छिट्टै सरोकारवालाहरूसँग छलफल गरेर मनोरञ्जन कर असुलिने बताए ।
वीरगञ्ज महानगरका जनप्रतिनिधि र उसका हुक्केढोकेहरूलाई रिझाएको भरमा क्यासिनोहरूले उन्मुक्ति पाउँदै आएका छन् । स्थानीय प्रहरी प्रशासनलाई नजराना बुझाएर निर्बाध रूपमा नेपालीहरूलाई क्यासिनोमा प्रवेश दिइएकाले कयौँ स्थानीयको बिल्लीबाठसमेत भएको छ ।
यस बारेमा गुनासो गरेको भए पनि प्रशासन मौन रहँदै क्यासिनोहरूलाई अवैध रूपले सञ्चालन गर्न दिएकोसमेत पाइएको छ ।