भारतले भन्यो - नेपाली नागरिकलाई यात्रा अनुमति नदिनुमा भारतको भूमिका छैन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
962
Shares
काठमाडौँ । भारतले नेपाली नागरिक शाम्भवी अधिकारीलाई भारतबाट काठमाडौँ फिर्ता पठाउनुमा भारतीय अध्यागमन विभागको कुनै भूमिका नरहेको जनाएको छ । भारतीय गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शाम्भवीलाई नेपाल पठाउनुमा अध्यागमन विभागको कुनै हात नरहेको बताएको हो ।
जर्मनीको बर्लिन जाँदै गरेकी शाम्भवीलाई नेपाली नागरिक भएर भेदभाव गरिएको भन्ने सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि गृह मन्त्रालयले उक्त्त विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
उनलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेर काठमाडौँ फिर्ता पठाइएको थियो । विज्ञप्तिमा यो सम्पूर्ण घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन भन्ने स्पष्ट पारिएको छ। शाम्भवी काठमाडौँबाट एयर इन्डियाको उडानमा दिल्ली हुँदै यात्रा गरिरहेकी थिइन् । उनलाई कतार एयरवेजको कनेक्टिङ उडानमा चढ्ने क्रममा रोकिएको थियो । एयरलाइन्सले नै उनको भिसाको वैधतालाई ध्यानमा राख्दै उनलाई जर्मनीको थप यात्रा गर्न अनुमति नदिई काठमाडौँ फिर्ता पठाइदिएको विज्ञप्तिमा उल्लेख छ ।
यो सामान्यतया गन्तव्य देशको नियम/आवश्यकता अनुसार गरिन्छ । विज्ञप्तिमा शाम्भवीले पछि आफ्नो यात्रा मिति परिवर्तन गरी काठमाडौँबाट अर्को मार्गबाट यात्रा गरेकोसमेत उल्लेख छ ।
अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले आफ्नो अगाडिको यात्राको लागि भारतीय अध्यागमन विभागलाई सम्पर्क गर्नु आवश्यक नभएको र यो एयरलाइन्स र यात्रु बीचको मामिला भएको भन्दै भारतीय गृह मन्त्रालयले यसमा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका नहुनेसमेत स्पष्ट पारेको छ ।
भारतले नेपालसँगको आफ्नो बलियो सम्बन्धलाई महत्व दिने र कुनै पनि भारतीय अधिकारीले नेपाली नागरिकहरू विरुद्ध कुनै पक्षपात वा भेदभाव नगर्ने आश्वासनसमेत दिएको छ । (एएनआईबाट)