झापा । झापा बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा एक करोड पाँच लाख ९० हजार आठ सयको केरा बिक्री भएको छ ।
इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् ।
दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार दुई सय ५६ घरी केरा औसतमा प्रतिघरी पाँच सय ५० का दरले बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीले जानकारी दिए । उनले गत असोज १० गतेदेखि कात्तिक १२ गतेसम्ममा सो मात्रामा केरा बिक्री भएको बताए ।
उनका अनुसार यहाँबाट विराटनगर, जनकपुर, काठमाडौँलगायत स्थानमा न्यूनतम् तीन सयदेखि अधिकतम आठ सय रुपैयाँ सम्ममा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा केरा जाने गरेको छ । उनले दशैँ र तिहारमा भन्दा बढी छठपर्वमा केरा बिक्री भएको बताए ।
यहाँ ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको उक्त थोक बजारमा ताप्लेजुङ, पाँचथर, इलामलगायत पहाडी जिल्लामा उत्पादित कृषिजन्य वस्तुको विषादी मापन गर्ने प्रयोगशाला पनि छ ।
तथ्याङ्क सहायक अधिकृत राजवंशीले यहाँ आएका फलफूल, तरकारीलगायत कृषिजन्य वस्तुको विषादी चेकजाँचपछि मात्र खानयोग्यलाई बजार पठाउने गरिएको जानकारी दिए । रासस