कागबेनी–कोरला सडकखण्डमा पहिरोले ठूलो क्षति, सञ्चार सेवासमेत प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
635
Shares
मुस्ताङ। बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण मुस्ताङस्थित कागबेनी–कोरला सडकखण्ड अन्तर्गत विभिन्न १० भन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ। लेदोसहितको बाढीले सडक संरचनामा व्यापक क्षति पुर्याएको छ, जसका कारण सञ्चार सेवा समेत प्रभावित बनेको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मका प्रत्येक खोल्साखोल्सीहरूमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत पारेको छ। कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा शुक्रबार बिहानैदेखि लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने स्पष्ट पारेका छन्।
राष्ट्रिय गौरवको यो सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिएका छन्। यस खण्डमा मात्र चार स्थानभन्दा बढी सडक अवरुद्ध छ। ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा पनि लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ। यस्तै, वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैले सडकमा करिब ३५ मिटरभन्दा बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताएका छन्।
शनिबार प्रजिअ भुसालसहित सुरक्षाकर्मीको टोलीले अवरुद्ध कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ र सडक मर्मतका लागि तीनवटा उपकरण परिचालित गरिएको छ। कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले पनि सडक सञ्चालनमा ल्याउन स्रोतसाधन परिचालन गर्ने बताएको छ। यद्यपि, वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले सडक संरचना ध्वस्त भएका कारण तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको र सडक खुलाउन केही दिन लाग्ने बताएका छन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ। यसैबीच, बिहीबार राति तीन स्थानमा सडक क्षति भई अवरुद्ध भएको जोमसोम–कागबेनी सडक भने २४ घण्टापछि सञ्चालनमा आइसकेको छ।