arrow

तेह्रथुममा उदाहरणीय कृषिकर्म: बाँझो जमिनमा तरकारीखेती गरी वार्षिक लाखौँ आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
terathum-krishi.jpg

तेह्रथुम। नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि भए तापनि पछिल्लो समय वैदेशिक रोजगारी र बसाइँसराइले गर्दा गाउँका धेरै खेतीयोग्य जमिन बाँझिँदै गएका छन्। यस्तो परिवेशमा तेह्रथुमको म्याङलुङ नगरपालिका–६, मेक्चानाका तिलबहादुर श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ दाजुभाइले व्यावसायिक कृषिकर्म गरेर जिल्लामै उदाहरणीय आम्दानी गरिरहेका छन्।

पछिल्लो समय गाउँमा सम्भावना छैन भन्दै पलायन हुने युवा पुस्तालाई चुनौती दिँदै ५६ वर्षीय तिलबहादुर र ५३ वर्षीय कृष्णकुमारले कृषि पेसा अँगालेर लोभलाग्दो आम्दानी गरिरहेका छन्।

करिब डेढ दशकअघि श्रेष्ठ कृषि फार्म दर्ता गरी व्यावसायिक तरकारीखेती गर्दै आएका तिलबहादुर श्रेष्ठले वार्षिक रु ११ लाख (लगानी र निमेक कटाएर) बच्ने गरेको बताए। उनले आफ्नै ३० रोपनी र भाडामा लिएको गरी ४२ रोपनी जमिनमा काक्रा, घिरौला, बैगुन, स्क्वास फर्सी, करेला, सिमी, क्याप्सिकन, आलु, अकबरे खुर्सानीलगायतका मौसमी र बेमौसमी तरकारी बाली लगाउँदै आएका छन्। उनको फार्म विशेषतः अकबरे खुर्सानीका लागि प्रख्यात छ। यस वर्ष ११ रोपनीमा अकबरे खुर्सानी लगाएका उनले आगामी वर्ष त्यसलाई बढाएर ३० रोपनी पुर्‍याउने लक्ष्य राखेका छन्। उनले यस वर्ष हालसम्म ३० क्विन्टल अकबरे खुर्सानी बेचिसकेको बताए।

छिमेकी तथा नातामा भाइ पर्ने कृष्णकुमार श्रेष्ठले पनि रङ्गेली कृषि फार्म दर्ता गरी २०६९ सालदेखि ३२ रोपनी क्षेत्रफलमा तरकारीखेती र व्यावसायिक पशुपालन गर्दै आएका छन्। परम्परागत खाद्यान्न बालीसँगै कृषि पेसामा रमाइरहेका कृष्णकुमारले गत वर्ष रु २५ लाख आम्दानी भएको बताए। उनले पनि अकबरे खुर्सानीलाई विशेष प्राथमिकता दिएका छन् र यो याममा हालसम्म एक हजार दुई सय किलो अकबरे खुर्सानी बेचिसकेका छन्।

श्रेष्ठद्वयले उत्पादित तरकारी उपज तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको शुक्रबारे र मङ्गलबारे हटिया, साथै जिरी बजारको सोमबारे हटियामा बेच्दै आएका छन्। अकबरे खुर्सानी धरान, इटहरीलगायत तराईका बजारसम्म पनि खपत हुने गरेको कृष्णकुमारले बताए। उनीहरूले खेतीमा मल्चिङ प्लाष्टिक को प्रयोग गरी लागत घटाएका छन् भने बेमौसमी तरकारीका लागि टनेल को प्रयोग गर्ने गरेका छन्। पशुपालन र तरकारी खेतीलाई एकैसाथ बढाउँदा मलखादको व्यवस्थापन गर्न सहज भएको उनीहरूको अनुभव छ।

अगुवा किसानका रूपमा रहेका श्रेष्ठद्वयलाई कृषि ज्ञान केन्द्र, नगरपालिका र घरेलु तथा सानो उद्योग कार्यालयले अनुदान, उपकरण र तालिमजस्ता सहयोग प्रदान गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा तिलबहादुरको श्रेष्ठ कृषि फार्म र कृष्णकुमारको रङ्गेली कृषि फार्मलाई तरकारी बालीमा नमुना फार्म स्थापनाका लागि रु तीन–तीन लाख अनुदानसमेत प्रदान गरेको केन्द्रका निमित्त प्रमुख विशाल राईले बताए।

२०५८ सालमा खोलाखेत बाढीले बगाएपछि राहतमा पाएको काक्रो, भिन्डी, लौका, स्क्वास फर्सीको थोरै बीउबिजनबाट तरकारीखेतीमा हात हालेका श्रेष्ठद्वयले पौरख गर्न सके गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ गर्न सकिने उदाहरण बनेका छन्। उनीहरू बेरोजगार युवालाई इलम गरेर स्वरोजगार बन्न आग्रह गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ