arrow

ट्रम्प प्रशासनद्वारा कोप–३० जलवायु वार्तामा उच्च अधिकारी नपठाउने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
cop26-climate-change-glasgow-deforestation.jpg

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले यसै महिनाको अन्त्यमा ब्राजिलमा हुने संयुक्त राष्ट्रसङ्घको वार्षिक जलवायु सम्मेलन कोप–३० मा कुनै पनि उच्च अधिकारीलाई नपठाउने भएको छ। ह्वाइट हाउसका एक अधिकारीले शनिबार यसको पुष्टि गरेका हुन्।

नोभेम्बर १० देखि २१ सम्म बेलेममा हुने यो वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयं सहभागी हुने अपेक्षा गरिएको थिएन। गत जनवरीमा दोस्रो पटक पेरिस जलवायु सम्झौताबाट पछि हटेका ट्रम्पले यस वार्तामा कुनै पनि शीर्ष वार्ताकारलाई नपठाउने निर्णय गरेका हुन्। ह्वाइट हाउसका एक अधिकारीले नाम नखुलाउने शर्तमा अमेरिकाले कोप–३० मा उच्च तहको प्रतिनिधि नपठाउने जानकारी दिए।

उनका अनुसार राष्ट्रपति ट्रम्प ऊर्जा मुद्दाहरूमा विश्वभरका नेताहरूसँग प्रत्यक्ष रूपमा सहभागी भइरहेका छन् र उनको प्रशासनले ऐतिहासिक व्यापार र शान्ति सम्झौताहरूमा ध्यान केन्द्रित गरेको छ।

यसैबीच, ब्राजिलले नोभेम्बर ६ देखि ७ मा हुने छुट्टै जलवायु शिखर सम्मेलनमा विश्वका ६० भन्दा कम नेताहरूले मात्र भाग लिने पुष्टि गरेको छ। फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स, नर्वे, कोलम्बिया, चिली, केप भर्डे र लाइबेरियाका नेताहरू सहभागी हुने निश्चित भएको छ। चीनले भने राष्ट्रपति सी जिनपिङको प्रतिनिधित्व उपप्रधानमन्त्री दिङ जुएक्सियाङले गर्ने जनाएको छ।

राष्ट्रपति ट्रम्प र उनको प्रशासनले यसपटक विश्वव्यापी रूपमा जीवाश्म इन्धनलाई बढावा दिन आफ्नो शक्ति प्रयोग गरिरहेको छ। जलवायु अभियन्ताहरू अमेरिकी प्रशासन पेरिस सम्झौतालाई आधार दिने संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सनबाट पनि फिर्ता हुन खोज्न सक्छ भन्नेमा चिन्तित छन्, जसले भविष्यका प्रशासनहरूलाई सम्झौतामा पुनः प्रवेश गर्नबाट रोक्न सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ