यस वर्ष कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ विपद् घटना, ३३५ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
768
Shares
काठमाडौँ। यस वर्षको वैशाखयता कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटनाहरू भएका छन्, जसमा परेर शनिबारसम्म तीन सय ३५ जनाको दुःखद् मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन्।
बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन्। त्यसैगरी, पहिरोका पाँच सय ५० घटनामा ६७ जनाको मृत्यु र चार जना बेपत्ता भएका छन्। मृत्युको संख्याका आधारमा सर्पदंश सबैभन्दा घातक देखिएको छ, जसका पाँच सय ३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ।
चट्याङका तीन सय ५६ घटनामा ४४ जनाको मृत्यु भएको छ भने जनावरको आक्रमणका दुई सय ६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता भएका छन्। यस्तै, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ। आगलागीका एक हजार ६१४ घटनामा २६ जनाको मृत्यु भएको छ भने भारी वर्षाका चार सय २० घटनामा सात र हुरीबतासका दुई सय ८६ घटनामा आठ जनाले ज्यान गुमाएका छन्। यसैगरी, हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार मात्रै विभिन्न विपद्जन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएकोमा दुई जनाको मृत्यु भएको थियो।