arrow

नेपाली भू–भागमा चिनियाँ सुरक्षाकर्मीको माइकिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
humla-mansarobar-82-7-14.jpg
तस्बिर : फाइल

हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमि लाप्चा क्षेत्रमा पछिल्लो समय चिनियाँ सुरक्षाकर्मीको गतिविधि र निगरानी बढ्दै गएको स्थानीयहरूले बताएका छन्। नेपाली भू–भागमासमेत चिनियाँ सुरक्षाकर्मी प्रवेश गरेर माइकिङ गरेको स्थानीयको भनाइ छ ।

लिमि लाप्चा क्षेत्र नेपाल र चीनबीचको सीमावर्ती संवेदनशील भूभाग हो। सो क्षेत्रमा चिनियाँ पक्षले बर्सेनि आफ्ना सुरक्षाकर्मी पठाउँदै आएको स्थानीयहरूको अनुभव छ। यस वर्ष पनि त्यहाँ चिनियाँ सुरक्षाकर्मीको उपस्थिति बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

सिमकोट गाउँपालिका–६ का राजु रावतका अनुसार चिनियाँ सुरक्षाकर्मीहरूले लिमि फिर्ता जाँदै गर्दा माइकिङ गरेका थिए । रावत भन्छन्, “चिनियाँ सुरक्षा टोली नेपाली भूभागमा समेत प्रवेश गरेर लिमि जाने बाटोमा माइकिङ गर्दै फर्किएको देखियो ।”

लिमि लाप्चा क्षेत्र कैलाश–मानसरोवर जाने तीर्थयात्रीहरूको प्रमुख मार्ग पनि हो । स्थानीयहरूले चिनियाँ सुरक्षाकर्मीहरूको उपस्थितिले आफूहरूमा डर र असहजता बढाएको बताएका छन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सीमाक्षेत्रमा चिनियाँ सुरक्षाकर्मी देखिएको विषयमा स्थलगत अध्ययन गर्न सुरक्षातर्फका निकायहरूलाई निर्देशन दिइएको जानकारी दिए । उनले भने, “हामीले सो क्षेत्रका सुरक्षाकर्मीहरूलाई जानकारी संकलन गर्न पठाएका छौँ। आवश्यक भए उच्च तहमा प्रतिवेदन पठाइनेछ।”

यसअघि पनि हुम्लाको विभिन्न सीमाक्षेत्रमा चिनियाँ पक्षले सीमास्तम्भ सार्ने, भौतिक संरचना निर्माण गर्नेलगायत गतिविधि गरेको भन्दै विवाद उठ्ने गरेको थियो। सीमावर्ती बासिन्दाहरूले पटक–पटक चिनियाँ पक्षको गतिविधि नियन्त्रण गर्न नेपाल सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।

परराष्ट्र विश्लेषकहरूका अनुसार सीमाक्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको सक्रियता नेपाल–चीनबीचको सीमा व्यवस्थापन प्रणालीमा कमजोरीको परिणाम हो । उनीहरूका भनाइमा नेपालले सीमाक्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाएरमात्र यस्ता गतिविधि रोक्न सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ