बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकास्थित ओखरीया इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
विशेषगरी तिहारको समयमा देउसी भैलो खेलेपछि पिकनिक खाने, इन्टेक घुम्ने, कर्णाली चिसापानी पुल र बर्दिया राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
ओखरीया इन्टेकमा आजभोलि पिकनिक खाने र घुम्नेको घुइँचो लाग्ने गरेको छ ।
शनिबारको दिनमा सबैभन्दा बढी घुइँचो लाग्ने गरेको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरका पर्यटन व्यवसायी तिलकबहादुर चौधरीले बताए ।
पछिल्लो समयमा हरेक दिन करिब ५० ओटा टिम पिकनिक खान र घुम्नका लागि आउने गरेको उनले बताए ।
ओखरिया इन्टेकबाट बर्दिया राष्ट्रिय निकुञ्जबाट विचरण गर्न आएका बाघ, हात्ती, गैँडा, चित्तललगायतका वन्यजन्तु हेर्न पाइन्छ ।
इन्टेक आसपासको क्षेत्रमा आउने वन्यजन्तु हेर्न सकिने हुनाले पनि त्यहाँ घुम्न जाने गरेको गेरुवा गाउँपालिका वडा नं ४ गिदरपुरका पुस्कर काफ्लेले बताए ।
स्थानीय सरकारले ओखरीया इन्टेकलाई थप व्यवस्थित बनाउन सकेमा बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने उनले बताए ।
पर्यटकका लागि र पिकनिक खाने टोलीका लागि सहज होस भनेर गेरुवा गाउँपालिकाले पिकनिक स्थलको व्यस्थापन गरेको छ ।
पिकनिक स्थलमा खानेपानी, शौचालय, टहरा, गोलघर र सो ठाउँमा जानका लागि सडक निर्माण गरिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए ।
उनले सो ठाउँलाई थप रमणीय बनाउनका लागि शहीद स्मृति पार्क निर्माण कार्य अगाडि बढाइएको बताए ।
ओखरीया इन्टेक सँगसँगै गेरुवा गाउँपालिकाले अन्य स्थानलाई समेत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगेको उनले बताए ।
पश्चिम क्षेत्रबाट निकुञ्ज दृश्यावलोकन गर्ने र निकुञ्ज प्रवेश गर्ने गरी पर्यटक आकर्षित गर्नका लागि योजना बनाएर काम गरिरहेको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताए ।
ओखरिया इन्टेक बर्दियाको सदरमुकाम गुलरियादेखि ५५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । भौगोलिक विकटाता भए पनि शान्त वातावरण र मनोरम दृश्य भएको हुनाले टाढाटाढादेखि ओखरिया इन्टेक घुम्नका लागि पर्यटक पुग्ने गर्दछन् ।