बेलायतसँग टर्किएले २० युरोफाइटर टाइफुन लडाकु जेट खरिद गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
2.3k
Shares
काठमाडौँ। टर्किएले बेलायतबाट ८ अर्ब पाउण्डमा २० वटा युरोफाइटर टाइफुन लडाकु जेट किन्ने सम्झौतामा हस्ताक्षर गरेको छ। अंकाराले अशान्त क्षेत्रीय परिदृश्यका बीचमा आफ्नो रक्षा क्षमतालाई सुदृढ पार्न खोजिरहेको बेला यो महत्वपूर्ण सम्झौता भएको हो।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा अंकारामा भएको १० वर्षे सम्झौताको हस्ताक्षर समारोहपछि यसलाई दुई नजिकका सहयोगीहरू बीचको रणनीतिक सम्बन्धको नयाँ प्रतीक का रूपमा चित्रण गरे। उहाँले यो सम्झौताले रक्षा उद्योगमा संयुक्त परियोजनाहरूको ढोका पनि खोल्ने विश्वास व्यक्त गरे।
युरोफाइटर टाइफुन लडाकु जेटहरूको खरिदका लागि कार्यान्वयन व्यवस्था अन्तर–प्रतिनिधिमण्डल बैठकहरूमा हस्ताक्षर गरिएको थियो। बेलायती प्रधानमन्त्री स्टारमरले पनि यस सम्झौताबाट दुई देशहरू एक बलियो रणनीतिक साझेदारीतर्फ एक कदम अघि बढेको बताए।
जुलाई २०२४ मा प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि स्टारमरको टर्कीको यो पहिलो भ्रमण हो। दुई नेताहरूले अंकाराको राष्ट्रपति परिसरमा एक–एक वार्ता गर्नुका साथै अन्तर–प्रतिनिधिमण्डल बैठकहरू गरेका थिए।
यो सहयोगको पहिलो चरणको रूपमा बेलायतले टर्कीलाई २० युरोफाइटर टाइफुन जेटहरू आपूर्ति गर्नेछ। यसअघि टर्कीका रक्षामन्त्री यासर गुलरले पत्रकारहरूलाई देशले कतारबाट १२, ओमानबाट १२ र बेलायतबाट २० गरी कुल ४४ युरोफाइटर टाइफुन जेटहरू खरिद गर्ने योजना बनाएको बताएका थिए। यी जेटहरूको डेलिभरी अर्को वर्षको शुरुमा सुरु हुने अपेक्षा गरिएको छ।