काठमाडौँ । आफ्नै पूर्व कानूनी सल्लाहकार तथा हालका गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले राजीनामा अभियान चलाएको खुलेको छ ।
सामाजिक सञ्जालमा गृहमन्त्री अर्यालविरुद्ध शुरू भएको 'राजीनामा दे' अभियानका पछाडि बालेन र उनका निकट समूहको संलग्नता रहेको खुलेको हो ।
फेसबुक समूह “मेन्स रुम (रिलोडेड)” र “रुटिन अफ नेपाल बन्द (आरओएनबी)” लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूमा बालेनका समर्थकहरूले गृहमन्त्री अर्यालको राजीनामाको मागसहित अभियान सञ्चालन गरिरहेका छन्।
‘रिजाइन ओम प्रकाश अर्याल’ शीर्षकमा शुरू गरिएको उक्त अभियानमा आरओएनबी समूहका सञ्चालक भिक्टर पौडेलले “लेट्स मेक अ ट्रेन्ड गाइज” भन्दै ह्यासट्याग अभियान शुरू गरेका छन् ।
पोस्टहरूमा “कायर गृहमन्त्री तुरुन्त राजीनामा गर”, “केपी ओलीका कुकुरसँग डराउने गृहमन्त्री हामीलाई चाहिँदैन” जस्ता अभिव्यक्तिहरू प्रयोग गर्दै गृहमन्त्रीमाथि तीव्र आलोचना गरिएको छ।
तर यो विषय केवल सामाजिक सञ्जालको आलोचना मात्र नभई राजनीतिक तनावको परिणाम भएको स्पष्ट संकेत पाइन्छ। गृहमन्त्री अर्याल बालेन साहकै पूर्व सल्लाहकार हुन् ।
बालेनको मेयर कार्यकालको शुरूआती चरणमा उनले प्रशासनिक सुधार र कानूनी सल्लाहका रूपमा साथ दिएका थिए। अर्याल गृहमन्त्री बनेपछि बालेनको टोलीसँगको सम्बन्ध तिक्त बन्दै गएको स्रोतहरू बताउँछन् ।
गृहमन्त्री बनेपछि बालेनको टिमले मन्त्रालयका निर्णयहरूमा असहयोग र निरन्तर दुष्प्रचार गरेको आरोप सार्वजनिक भएको छ । यही विषयलाई सामाजिक अभियन्ता ई: ई: ले हालै सार्वजनिक गर्दै बालेन साहकै टिमले गृहमन्त्री अर्यालमाथि योजनाबद्ध रूपमा अभियान चलाएको भण्डाफोर गरेका छन् ।
ई: ई: को खुलासापछि बालेन साहको पक्षधर र आलोचकबीच सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ। बालेन समर्थकहरूले गृहमन्त्रीलाई अयोग्य ठहर गर्दै हटाउनुपर्ने बताइरहेका छन् भने विपक्षीहरू यो व्यक्तिगत स्वार्थ र सत्ता–अहंकारको लडाइँ भएको दाबी गर्छन्।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मेयर साहले पनि गृहमन्त्री अर्यालप्रति असन्तुष्टि प्रकट गर्दै तत्काल राजीनामा गराउन माग गरेको बताइएको छ। तर सरकार स्रोतका अनुसार प्रधानमन्त्रीले अहिलेका लागि त्यो माग अस्वीकार गर्दै विवाद समाधानका लागि संवाद मार्ग खोज्ने तयारी गरिरहेकी छिन् ।
पूर्व सल्लाहकार र मेयरबीचको यो मनमुटाव अब सामाजिक सञ्जालदेखि संघीय सरकारसम्म फैलिएको छ । बालेन साह र गृहमन्त्री ओमप्रकाश अर्यालबीचको असमझदारीले केवल व्यक्तिगत सम्बन्धमा मात्र होइन, काठमाडौँ प्रशासन र संघीय गृह मन्त्रालयबीचको समन्वयमा पनि गम्भीर प्रभाव पार्ने संकेत देखिएको छ।
यो विवाद अब सामान्य असन्तुष्टिको स्तरमा सीमित रहेन कि राजनीतिक घटनाक्रममा परिणत हुने त्यसको उत्तर आगामी दिनमा स्पष्ट हुनेछ।