सर्वपक्षीय सरकार हुनुपर्नेमा जेन-जी समितिको जोड [भिडियाे]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
931
Shares
काठमाडौँ । जेन-जीद्वारा आह्वान जनआन्दोलन समन्वय संघर्ष समितिले मुलुकलाई निकास दिन राजनीतिक दलसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो ।
राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेन-जी आन्दोलनका प्रतिनिधि सम्मलित सो सरकार गठन हुनुपर्ने माग गर्नुपरेको समिति प्रतिनिधि लेनिन विष्टले बताए ।
उनले सो सरकारले छलफल गरी १८ महिनाभित्र संविधान संशोधन, निर्वाचन प्रणालीमा आमूल सुधार, राष्ट्रिय नीतिमा पुनरावलोकन गरी मुलुकलाई निर्वाचनमा लैजानुपर्ने जिम्मेवारी पूरा गर्ने लक्ष्य राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको समेत बताए ।
विष्टले भने, ‘संक्रमणकालीन व्यवस्थापन राष्ट्रिय संकट समाधानका लागि छोटो अवधिका लागि निम्न प्रक्रियाद्वारा अन्तरिम सरकार गठन गरिनेछ । सबै राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिहरू सम्मिलित उच्च स्तरीय समन्वय समिति गठन । उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रश्ताव राष्ट्रपति समक्ष पेश गर्ने । कार्यकालको सीमा । अन्तरिम सरकारको कार्यावधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम् १८ महिना रहनेछ । यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने । अन्तरिम सरकारको कार्यकाल समाप्तिपछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने ।’
संघर्ष समितिले सो सरकार गठनका लागि सहयोग गर्न काँग्रेस, एमालेलगायतका पुराना राजनीतिक दललाई पनि आग्रह गरेको छ ।
संयोजक विष्टले नयाँ सरकार गठनका लागि आफूहरूले विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाइसकेको समेत बताए ।