निर्वाचनमा सहभागी हुनु सबै दलको साझा जिम्मेवारी [भिडियो]
देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
916
Shares
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता कायम गर्नु सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन्।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दल दर्ताका लागि पुगेका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध रहेको पनि बताए।
मुलुक विषम राजनीतिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी निर्वाचनमा प्रतिस्पर्धामा सहभागी नहुने दलहरू 'लक्ष्मणरेखाभन्दा बाहिर रहने' टिप्पणी गरे। उनले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरूलाई आग्रह समेत गरे।
उनले भने, “हामीसँग अहिले आएको दायित्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरू प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मणरेखाभन्दा बाहिर रहन्छौं। त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनुभएको छ, यहाँहरूलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु।”
भण्डारीले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबैमा आग्रहसमेत गरे।