एनआरएनएले बनाइदियो ट्राफिक प्रहरी कन्ट्रोल रुम [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
962
Shares
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनर्निर्माण गरिदिएको छ । जेन-जी आन्दोलनले ध्वस्त बनाएको सो कन्ट्रोल रुम पुनर्निर्माण गरी मंगलबार एक कार्यक्रमका बीच एनआरएनएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौँको रामशाह पथमा रहेको सो ट्राफिक कन्ट्रोल रुम जेन-जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको थियो । विपद्मा परेका बेला मातृभूमिलाई सहयोग गर्नुपर्ने दायित्वअन्तर्गत सो कन्ट्रोल रुम पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष श्रेष्ठले बताए।
उनले शोरुम दीर्घकालसम्म सञ्चालनमा आउने गरी पुनर्निर्माणको काम गरिएको पनि उनले जानकारी दिए ।
उपाध्यक्ष श्रेष्ठले भने, ‘यस कन्ट्रोल रुममा केवल सुधारको पक्ष मात्रै होइन, सस्टेनविलीटी, अपरेटरको सहजतालाई ध्यानमा राखेका निर्माण गरेका छौँ । यस परियोजनामा जडित भएका सबै उपकरण दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । विश्वका विकसित शहरको ट्राफिक व्यवस्थापनले धेरै कुरा सिकाएको छ । सिंगापुर, दुबई, लण्डन जस्ता शहरमा स्मार्ट ट्राफिक प्रहरी म्यानेजमेन्ट सिष्टम लागू भइसकेको छ । नेपालमा पनि त्यो सिष्टम लागुपर्ने छ ।’
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले शोरुम पुनर्निर्माण गरी हस्तान्तरण गरिदिएकोमा गैरआवासीय नेपाली संघप्रति आभार व्यक्त गरे । उनले मातृभूमिप्रतिको मायाको रुपमा सो काम भएको समेत उल्लेख गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, ‘म गैर आवासीय नेपालीसँघलाई यो काम सम्पन्न गरिदिनुभएकोमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । यो मुलुक बाहिर भन्दा मुलुकको अझ धेरै चासो र चिन्ता गर्नुभएको छ । मुलुक छोडेपछि मुलुकको चिन्ता र चासो अझ बढी हुन्छ । यही भावका साथ यो मातृभूमिप्रतिको उहाँहरुको माया प्रदर्शन भएको रुपमा यो कार्यलाई लिएका छाँै । यसका लागि फेरि पनि संवद्ध सबै पक्षलाई धेरै धन्यवाद ।’
सो कन्ट्रोल रुमबाट काठमाडौँ, ललितपुर र भक्तपुर काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाको ट्राफिक व्यवस्थापनको काम हुने गर्दछ । त्यसको पुनर्निर्माण कार्यले ट्राफिक व्यवस्थापनको काममा धेरै ठूलो सहजता प्राप्त भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।