चीनको बढ्दो खतरा सामना गर्न अमेरिकी रक्षा मन्त्री एसियाली देशको भ्रमण गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
2.5k
Shares
काठमाडौँ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले आगामी दिनमा चार एसियाली देशहरूको भ्रमण गर्ने पेन्टागनले आइतबार घोषणा गरेको छ। पेन्टागनको 'प्राथमिकता' क्षेत्रको उनको यो तेस्रो भ्रमण हो र वाशिङ्टनले चीनलाई काउन्टर गर्न आफ्ना सहयोगीहरूलाई रक्षा खर्च बढाउन आग्रह गरिरहेका बेला यो भ्रमण हुन लागेको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले एक विज्ञप्ति जारी गर्दै हेगसेथले जापान, मलेसिया, भियतनाम र दक्षिण कोरियाको भ्रमण गर्ने बताएको छ, यद्यपि उन ती मुलुकहरूमा पुग्ने मिति र त्यहाँ कति बस्ने भन्ने जानकारी भने अहिलेसम्म दिइएको छैन। हेगसेथको यात्राको मुख्य विषय 'इन्डो–प्यासिफिकमा अमेरिकाको लक्ष्य मन्त्रालयको प्राथमिकता क्षेत्र' रहेको पेन्टागनले जनाएको छ।
संयुक्त राज्य अमेरिका वर्षौंदेखि विशेष गरी क्षेत्रीय सहयोगीहरूसँग सैन्य सम्बन्ध गहिरो गरेर चीनको बढ्दो खतराको सामना गर्नमा केन्द्रित छ, यद्यपि मध्यपूर्व र युरोपको सङ्कटले बारम्बार अन्यत्र ध्यान आकर्षित गर्ने गरेको छ। मे महिनामा सम्पन्न सिङ्गापुरमा सांग्रिला रक्षा सम्मेलनमा बोल्दै हेगसेथले चीनले 'इन्डो–प्यासिफिकमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने विश्वसनीय तयारी गरिरहेको' चेतावनी दिएका थिए। उनले चीनसँग क्षेत्रीय विवाद रहेका यस क्षेत्रका जापान र फिलिपिन्सजस्ता सहयोगीहरूलाई रक्षा खर्च बढाउन आग्रह गरेका थिए।
एसिया भ्रमणका क्रममा रक्षा मन्त्री हेगसेथले हवाइ पुगेर अमेरिकी इन्डो–प्यासिफिक कमान्डका नेताहरूसँग भेट गर्नेछन्। यसपछि उनले जापानको भ्रमण गर्नुहुनेछ, मलेसियामा आसियान रक्षा मन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ, भियतनाममा वार्ता गर्नुहुनेछ र दक्षिण कोरियामा द्विपक्षीय सुरक्षा बैठकको सहअध्यक्षता गर्नुहुनेछ। विज्ञप्तिमा भनिएको छ, "हेगसेथको स्पष्ट र बलियो नेतृत्वमा पेन्टागनले इन्डो–प्यासिफिकमा ध्यान केन्द्रित गर्ने महत्त्वलाई मान्यता दिन्छ र हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर शक्तिको माध्यमबाट शान्ति सुनिश्चित गर्ने आवश्यकतालाई महत्त्व दिन्छ।"
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य शीर्ष अमेरिकी अधिकारीहरू पनि यस क्षेत्रमा शिखर सम्मेलन र द्विपक्षीय वार्तामा भाग लिइरहेका छन्, जसमा ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीच बिहीबार दक्षिण कोरियामा आमनेसामने वार्ता हुने कार्यक्रम रहेको छ। ट्रम्प र हेगसेथ एसियाको भ्रमण गरिरहेका बेला अमेरिकी सेनाले पनि लागुऔषध ओसारपसारविरुद्धको अभियानको एक हिस्साका रूपमा ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति बढाइरहेको छ।