त्रिदेशीय महिला फुटबलमा नेपालले हरायो भारतलाई, साम्बाको सनसनी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
1.3k
Shares
काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपालले भारतलाई हराएको छ । भारतको सिलोङस्थित जवाहरलाल नेहरू रंगशालामा भएको खेल नेपालले २–१ ले जितेको हो ।
दुवै गोल नेपालकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले गरिन् । उनले खेलको दोस्रो तथा ६३ औँ मिनेटमा गोल गरेकी हुन् ।
साम्बाको यो ६६ औँ अन्तर्राष्ट्रिय गोल हो । भारतले ८१ औँ मिनेटमा सान्त्वना गोल फर्काएको हो ।
तेस्रो टिम इरानले दुवै टिमलाई हराएर च्यापियनशिपको उपाधि लिइसकेको छ । इरानले नेपाललाई ३–० ले तथा भारतलाई २–० ले हराएको थियो । नेपालले भारतलाई हराएर सान्त्वना जित हासिल गरेको हो ।
नेपालका लागि भारत प्रायः तगारो बनिरहँदा सोमबारको खेलमा भने नेपालले जित निकालेको हो । खेलमा भारतका गोल गर्ने थुप्रै प्रयास नेपाली खेलाडीले विफल बनाएका थिए ।