-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थल हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।
घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु १० शुल्क लिने गरेको छ ।
ताल घुम्नका लागि केही दिनयता दैनिक दुई हजार बढी पर्यटक आउने गरेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले जानकारी दिए ।
टीकापुर कर्णालीलगायतका क्षेत्रमा वनभोजका लागि आउनेहरू पनि घोडाघोडी ताल घुम्न आउने गरेको उनले बताए ।
पहिलेभन्दा यस ताल आसपासमा धेरै परिवर्तन भएको सल्यानबाट घुम्न आएका महादेव गिरीले बताए ।
“वनभोजका लागि टीकापुर आएका थियौँ”, उनले भने, “एकछिन पुगौँ न त भनेर यहाँ पनि आयाैँ । घुम्न, रमाउन र फोटो खिच्न निकै रमणीय स्थान बनेको रहेछ ।”
चाडबाडको लामो बिदा भएकाले पनि यहाँका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल बढेको हो ।
स्थानीय ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा २० भन्दा बढी फोटोग्राफर छन् ।
“तिहारपछि दिनको रु तीन हजार ५०० देखि पाँच हजारसम्म आम्दानी गरिरहेको छु”, फोटोग्राफर प्रेम शाहले भने ।
पर्यटकको चहलपहलसँगै होटल व्यवसाय पनि फस्टाएको होटल व्यवसायी सुरेश बमले बताए ।
“अरू बेला पनि व्यापार हुन्छ तर तिहार पछि व्यापारमा वृद्धि भएको छ”, उनले भने ।
घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ ।
घोडाघोडीमा पर्यटकका लागि पैदलमार्ग निर्माण गरिएका छन् । घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ ।
त्यसैगरी जिल्लाको चिसापानीमा पनि हाल दैनिक एक हजार बढी पर्यटक आउने गरेका छन् ।
कर्णाली नदी र पुल यहाँको आकर्षणको केन्द्र बनेको छ । कर्णाली पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भीड लाग्ने गरेको छ ।
विगतका वर्षमा भन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको चिसापानी बजारस्थित लुक होटेलका सञ्चालक शशी लिगलले बताए ।
सामाजिक सञ्जालका कारण पनि पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ ।
टीकापुर उद्यानमा पनि वनभोजका लागि आउनेको भिड छ । राजा महेन्द्रका पालामा बनेको यो उद्यान देशकै ठुलो उद्यान मानिन्छ । रासस